धादिङ २९ वैशाख
धादिङको गंगाजमुना गाउँपालिका वडा नं. २ लताबकी सुन्तली तामाङलाई हेलिकप्टरमार्फत गाउँपालिकाले उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाएको छ । गर्भवती तामाङलाई सुरक्षित प्रसुतीको लागि री स्वास्थ्य चौकीमा उपचार सम्भव नभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले गाउँपालिकाले हेलिकप्टरमार्फत काठमाडौँ रेफर गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिनुभयो ।
मङ्गलबार दिउसो १२ बजे री स्वास्थ्य केन्द्रमा उपचारको लागि ल्याइएकी तामाङको स्वास्थ्य अवस्था थप जटिल भएकाले एयर डाइनेस्टीको हेलिकप्टरमार्फत प्रसुती गृह थापाथली पठाइएको संयोजक अधिकारीले बताउनु भयो । यसअघि गङ्गाजमुना गाउँपालिका वडा नं. २ धुसेनीकी वर्ष २७ की चिना तामाङलाई पनि हेलिकप्टरबाट उद्धार गरेको थियो ।
गाउँपालिकाको ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निःशुल्क हवाई उद्धार निर्देशिका २०७७ अनुसार गाउँपालिकाका ७ वटै वडामा जटिल समस्या भएका गर्भवती तथा सुत्केरी महिलालाई तत्कालै अस्पताल र्पुयाइ उहाँहरुको जीवन रक्षा गर्ने उद्देश्यका साथ कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको थियो ।
गाउँपालिकाको यो कार्यक्रमले जटिल समस्या भएर गर्भवती तथा सुत्केरी महिलाको अकालमै हुनसक्ने सम्भावित मृत्यु र जोखिमबाट बच्न सक्ने र मातृ तथा शिशु मृत्युदर शुन्यमा झार्ने योजनालाई महत्त्वपूर्ण सहयोग पुग्ने स्वास्थ्य संयोजक अधिकारीले बताउनु भयो । कोही पनि गर्भवती र सुत्केरी महिलाको अकालमा ज्यान नजाओस् आमा र बच्चा सुरक्षित रहुन् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्नै खर्चमा जटिल समस्या भएका गर्भवती र सुत्केरी महिलाको हवाइ उद्धार गर्ने कार्यक्रम ल्याएको अधिकारीको भनाइ छ ।
यो पनि :
गङ्गाजमुना गाउँपालिका धादिङले जटिल गर्भवती र सुत्केरी महिलाको निशुल्क हवाइ उद्धार गर्ने
गंगाजमुना २ धुसेनीकी गर्भवती महिला(चिना तामाङ)को गाउँपालिकाद्धारा हवाई उद्धार
प्रतिक्रिया दिनुहोस