धादिङ १७ माघ
गङ्गाजमुना गाउँपालिका वडा न.. २ धुसेनीकी गर्भवती महिलालाई गाउँपालिकाले हवाई उद्धार गरेको छ । गाउँपालिकाको ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निःशुल्क हवाई उद्धार निर्देशिका २०७७ अनुसार वर्ष २७ की चिना तामाङलाई उद्धार गरी काठमाडौँस्थित टिचिङ अस्पताल पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिनुभयो । शनिबार बिहान ४ बजे री स्वास्थ्य बिन्दुमा उपचारका लागि ल्याइएकी उक्त महिलाको अवस्था गम्भीर र तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले मनाङ एयरको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको संयोजक अधिकारीले बताउनु भयो ।
गाउँपालिकाका ७ वटै वडामा जटिल समस्या भएका गर्भवती तथा सुत्केरी महिलालाई तत्कालै अस्पताल र्पुयाइ उहाँहरुको जीवन रक्षा गर्ने उद्देश्यका साथ उक्त कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको थियो । गाउँपालिकाको यो कार्यक्रमले जटिल समस्या भएर गर्भवती तथा सुत्केरी महिलाको अकालमै हुनसक्ने सम्भावित मृत्यु र जोखिमबाट बच्न सक्ने र मातृ तथा शिशु मृत्युदर शुन्यमा झार्ने योजनालाई महत्त्वपूर्ण सहयोग पुग्ने स्वास्थ्य संयोजक अधिकारीले बताउनु भयो । कोही पनि गर्भवती र सुत्केरी महिलाको अकालमा ज्यान नजाओस् आमा र बच्चा सुरक्षित रहुन् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्नै खर्चमा जटिल समस्या भएका गर्भवती र सुत्केरी महिलाको हवाइ उद्धार गर्ने कार्यक्रम ल्याएको अध्यक्ष बलबहादुर अधिकारीले बताउनु भयो ।
यो पनि :
गङ्गाजमुना गाउँपालिका धादिङले जटिल गर्भवती र सुत्केरी महिलाको निशुल्क हवाइ उद्धार गर्ने
प्रतिक्रिया दिनुहोस