धादिङ १५ मङ्सिर
धादिङको गङ्गाजमुना गाउँपालिकाले जटिल किसिमका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निशुल्क हवाइ उद्धार गर्ने भएको छ । गाउँकार्यपालिकाको बैठकद्धारा निणर्य गरी ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निशुल्क हवाइ उद्धार निर्देशिका २०७७ जारी गरेसँगै आइतबार हवाइ उद्धारका लागि सेवा प्रदायक संस्था छनौट गर्न आर्थिक प्रस्ताव पेश गर्ने सम्बन्धी १५ दिने सूचना समेत निकालेको छ । प्रमुख प्रशासकीय अधिकृत बिनोद रोकाले गाउँपालिकाका ७ वटै वडामा जटिल समस्या भएका गर्भवती तथा सुत्केरी महिलालाई तत्कालै अस्पताल पुर्याइ उहाँहरुको जीवन रक्षा गर्ने उद्देश्यका साथ उक्त कार्यविधि तयार गरी कार्यान्वयन गर्न लागिएको बताउनु भयो । गाउँपालिकाको यो कार्यक्रमले जटिल समस्या भएर गर्भवती तथा सुत्केरी महिलाको अकालमै हुनसक्ने सम्भावित मृत्यु र जोखिमबाट बच्न सक्ने र मातृ मृत्युदार शुन्यमा झार्ने योजनालाई महत्त्वपूणर् सहयोग पुग्ने समेत प्रमुख प्रशासकीय अधिकृत रोकाले बताउनु भयो । कोही पनि गर्भवती र सुत्केरी महिलाको अकालमा ज्यान नजाओस् आमा र बच्चा सुरक्षित होस् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्नै खर्चमा जटिल समस्या भएका गर्भवती र सुत्केरी महिलाको हवाइ उद्धार गर्ने कार्यक्रम ल्याएको अध्यक्ष बलबहादुर अधिकारीले बताउनु भयो । अधिकारीले गङ्गाजमुना गाउँपालिकाका नागरिकहरुलाई स्वस्थ र निरोगी बनाउनको लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउदै आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस