चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् । परापुर्व कालदेखि नै प्रकृतिलाई भगवानको रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् ।
आदिवासी जनजातिमा सुचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा धर्म, संस्कृति, परम्परा रहेकाले जनगणनामा धर्मका ठाउँमा प्रकृित उल्लेख गर्ने नेपाल चेपाङ सङ्घका केन्द्रिय महासचिव आइतसिंह चेपाङले बताउनुभयो । उनले भने, हाम्रो आफ्नै धर्म छ, त्यो प्रकृति हो, हामी मानव निर्मित मन्दिरमा पूजा गर्दैनौँ, प्रकृतिमा आफै उत्पत्ति भएका ढुंगा, ठूलो वृक्ष, पहाड, खोला र माटोलाई पुज्ने गर्छौं, त्यसैले हाम्रो धर्म प्रकृति हो, राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति र भाषामा चेपाङ लेख्नेछौँ ।
नेपाल चेपाङ संघको अगुवाइमा चेपाङ समुदायलाई आफ्नो भाषा, धर्म, संस्कृतिबारे जानकारी गराउन टोलटोलमा कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । पछिल्लो समय आफ्नो भाषा, धर्म, संस्कृति लोप हुने स्थितिमा पुगेपछि संगठित रुपमा नै नेपाल चेपाङ संघले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।
नेपालको २६ जिल्लामा बसोबास गर्ने चेपाङ समुदायको संख्या राष्ट्रिय जनगणना २०६८ अनुसार ६८ हजार ३९९ रहेको छ ।
प्रतिक्रिया दिनुहोस