नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरूलाई एमालेका नेताहरूप्रति गालीगलौच नगर्न आग्रह गरेका छन् । हेटौंडामा आयोजित कार्यक्रममा नेपालले एमालेका नेताहरूले जस्तै गाली गरेमा उनीहरू र आफूहरूमा फरक नदेखिने बताए ।
हेटौँडामा शनिबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, हामी फूलको आँखाले संसार हेर्छौं, केपी ओली काँडाको आँखाले संसार हेर्छन् ।
एमाले आगामी चुनावमा कमजोर बन्ने माधव नेपालको भनाइ थियो । एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् । उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । सद्बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरू र हामीमा के फरक , उनले भने ।
प्रधानमन्त्री जोखिममा छ भन्ने लागेपछि प्रतिनिधिसभा विघटन गर्नुभयो, ओलीले विगतमा भनेका कुरा स्मरण गर्दै नेपालले भने, मेरो प्रधानमन्त्रीको कुर्सी ताक्दै हुनुहुन्छ हैन भन्नुहुन्थ्यो । कुर्सी ताक्नुभयो भने कुर्सी नै भाँचिदिन्छु भन्नुभएको थियो ।
कुर्सी भाँचिदिन्छुु भनेको प्रतिनिधिसभा विघटन रहेको नेपालको भनाइ थियो । १५ वर्ष प्रधानमन्त्री बन्ने सपना देखेर प्रतिनिधिसभा विघटन गर्नुभएको थियो,उनले भने ।
source : ekantipur
प्रतिक्रिया दिनुहोस