बाँकेमा भएका पछिल्ला दुई घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै महिला अधिकारकर्मीहरुले नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रा शुरु गरेका छन् । गत साउन ६ गते जानकी गाउँपालिका–२ नेवाजीकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु र गत वर्षदेखि बेपत्ता रहेकी नेपालगन्ज उपमहानगरपालिका परस्पुरकी निर्मला कुर्मीको अवस्थाबारे प्रहरीले खोजबिन नगरेको भन्दै उनीहरुले पैदलयात्रा शुरु गरेका हुन् । मृतकका आफन्त र राष्ट्रिय महिला अधिकार मञ्च बाँके इन्चार्ज रुबी खान लगायतले १९ दिनदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए ।
निरन्तर धर्ना, दबाबका बाबजुद पनि छानबिनमा प्रहरीले सुस्तता देखाएपछि आफूहरुले पैदलयात्रा अभियान शुरु गरेको राष्ट्रिय महिला अधिकार मञ्च बाँके इन्चार्ज रुबी खानले जानकारी दिइन् । नन्कुन्नीले आफ्नो मृत्यु हुनुअघि श्रीमानको परिवारबाट ज्यानको खतरा रहेको उजुरी गरेपछि प्रहरीले मिलाएर पठाएको नन्कुन्नीका भाई माधवप्रसाद धोबीले बताए । त्यसपछि उनको रहस्मय मृत्यु भएको उनले बताए । अहिले नन्कुन्नीका श्रीमानलाई प्रहरीले हिरासतमा लिएको छ ।
महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरु होसियार, मौन बस्ने सरकार खबरदार नारासहित शुक्रबारदेखि शुरु भएको पैदल यात्रामा ११ जना महिला र दुई पुरुष सहभागी छन् ।
उनीहरुले बुटवलस्थित मुख्यमन्त्रीको कार्यालयमा ३ गतेदेखि ५ गतेसम्म धर्ना दिने र काठमाडौं आएपछि प्रधानमन्त्री तथ मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको खानले बताइन् ।
प्रतिक्रिया दिनुहोस