सरकारले प्रतिनिधिसभामा विचाराधीन बजेट विनियोजन विधेयक–२०७८ लाई नियमित प्रक्रियाबाटै पास गर्ने भएको छ । यससँगै ३० भदौबाट केही दिन सरकारी कोषबाट रकम खर्च गर्न नपाइने भएको छ । अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश ३ साउनमा संसदमा पेश भएको थियो । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २५ भदौमा टेबल गरेका थिए ।
मंगलबार एमाले सांसदको नाराबाजीकै बीच प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पास भयो । र, संसदको अर्को बैठक ४ असोजका लागि तोकिएको छ ।
अब केही दिन सरकारलाई राज्यकोषबाट खर्च गर्न रोक लाग्ने भएको छ । जसलाई बजेट होलिडे पनि भनिन्छ । अर्थमन्त्री जनार्दन शर्माले पनि केही दिन राज्यकोषबाट रोकिने स्वीकार गरे । संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनेका छन्, ‘५ र ७ दिन खर्च नहुन पनि सक्छ ।’
प्रतिक्रिया दिनुहोस