पुरानो बानेश्वरको मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती रकम मागेको अभियोगमा धादिङका आशिष कुँवर, उनको भाई अभिषेक कुँवर र होटल व्यवसायी रोल्पा घर भएका अम्बरबहादुर रोकालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये आशिषले सोही अस्पतालमा आँखाको शल्यक्रिया गराएका थिए । त्यसक्रममा उनी अस्पताल प्रशासन र डाक्टरहरुसँग परिचित भएका थिए । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार डाक्टरको नम्बरमा फोन र म्यासेज गरेर उनीहरुले पटकपटक अस्पतालमा बम राख्ने धम्की दिँदै आएका थिए ।
अस्पताल र घर परिवार सुरक्षित राख्ने भए ३ करोड तयार गर्नु भनेर उनीहरुले धम्की दिएको अडियो पनि प्रहरीले फेला पारेको छ । प्रहरीका अनुसार कुँवरले एक सहकारीबाट १७ लाख रुपैयाँ ऋण लिएका थिए । तर चुक्ता गर्न सकेनन् । कुँवर दाजुभाइले बेल्जियम जान पनि ‘एप्लाई’ गरेका थिए । तत्काल तिर्नुपर्ने रकम थिएन । ‘आर्थिक समस्यामा परेका कारण तीन जनाले गलत बाटो रोजेको देखिन्छ’ ।
प्रतिक्रिया दिनुहोस