धादिङ २५ भाद्र
अखिल क्रान्तिकारी नीलकण्ठ नगर कमिटी अध्यक्षमा श्री कृष्ण रिजाल निर्वाचित भएका छन् । ४१ सदस्यीय कमिटीको उपाध्यक्षमा रत्नेश यादव, अजय रम्तेल, नवीना रिजाल, सचिवमा ईश्वर आचार्य, सह–सचिवमा गणेश आचार्य, सुष्मा पोखरेल, सिरिषा पोखरेल र कोषाध्यक्षमा निर्मल श्रेष्ठ निर्वाचित भएका छन् ।
श्रीकृष्ण रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा(माओवादी केन्द्र) धादिङका सह–इन्चार्ज राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष विजय बुर्लाकोटीको विशेष आतिथ्यता तथा जवस मोर्चा फ्याक्सन इन्चार्ज मनराज भण्डारी(सैलेश), जिल्ला नेताहरु शम्भु श्रेष्ठ, दिपक विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जवस मोर्चा फ्याक्सन इन्चार्ज मनराज भण्डारी(सैलेश) ले समाजका विभेद, अन्याय, अत्याचारको विरुद्ध आवाज उठाउनुपर्ने बताउँदै विद्यार्थीमैत्री विद्यालय निर्माण गर्न अखिल क्रान्तिकारीले भूमिका खेल्नुपर्ने बताउनु भयो ।
यस्तै जिल्ला अध्यक्ष विजय बुर्लाकोटीले सम्पूर्ण क्रान्तिकारी विद्यार्थीहरुलाई आफ्नो राजनैतिक स्तर उकास्ने, क्षमता विस्तार गर्ने र समाज बदल्ने अभियानका रुपमा सदुपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका जिल्ला सह–इन्चार्ज राम बहादुर भण्डारीले गौरवमय इतिहास बोकेको अखिल क्रान्तिकारीले देश बदल्ने तागतका साथ आफ्ना गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो ।
यही भाद्र ३१ गते जिल्ला सम्मेलन गर्ने तयारीका साथ क्रान्तिकारी यतिबेला पालिका स्तरीय सम्मेलन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस