नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास नहुने घोषणा गरेका छन् । मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । ‘एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन’, प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो,‘तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन ।’
त्यस्तै प्रचण्डले माओवादी केन्द्र पनि संसदवादमा फस्दै गएको भन्दै संसदवादले राम्रो नगरेको बताए । प्रचण्डले वाईसीएललाई संसदवादमा नफस्न निर्देशन दिँदै फौजी संरचना भएकाले एकीकृत र एकढिक्का भएर अघि बढ्नुपर्ने बताए । उनले अहिलेको शासन प्रणालीमाथि प्रश्न उठिरहेकाले माओवादीको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनसँगै पार्टीले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउने भएकाले त्यसका लागि तयार रहेर बस्न आग्रह समेत गरे ।
source : ratopati
प्रतिक्रिया दिनुहोस