गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गम्भीर आपत्ति जनाएको छ । मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको र यस्तो उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति गम्भीर आपत्ति प्रकट गरिएको छ ।
मन्त्रालयले मित्राष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भइ कानुन हातमा लिन खोज्नेलाई कारबाही गरिने पनि स्पष्ट पारेको छ । मन्त्रालयले कसैसँग समस्या उत्पन्न भएको छ भने सरकारले वार्ता, संवाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको र भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, संवाद र कूटनीतिक माध्यमबाटै समाचार गरिने उल्लेख गरेको छ।
केहीदिनअघि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएको थियो । दार्चुलाका जयसिंह धामी बेपत्तामा भारतीय एसएसबीको संलग्नता पुष्टि भएपछि घटनाको विरोधमा विद्यार्थीहरुले मोदीको पुत्ला जलाएका हुन् ।
source : ratopati
प्रतिक्रिया दिनुहोस