धादिङ जेष्ठ ३०
अपाङ्गहरुलाई अझै पनि राज्य र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन नआएकाले अपाङ्गहरुको बृद्धि विकासमा समस्या देखा परेको अपाङ्ग प्रतिनिधिहरुले गुनासो गरेका छन् । धादिङबेसीमा यही जेष्ठ २६ गतेदेखि अपाङ्गहरुका लागि आयोजित ५ दिने नेतृत्व विकास तथा समूह व्यवस्थापन सम्बन्धी तालिमको समापन कार्यक्रममा तालिमको क्रममा आफूले सिकेका सीपहरुको बारेमा बताउदै यस्तो धारणा राखेका हुन् ।
अपाङ्गहरुको क्षेत्रमा काम गर्दै आएको परिलक्षित संस्थाको आयोजना तथा अपाङ्ग कल्याण संघ धादिङको समन्वयमा भएको ५ दिने तालिमको आज समापन गरिएको हो । परिलक्षित संस्थाका निमित्त कार्यकारी निर्देशक सूर्य थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा शिद्धालेक गाउँ पालिका वडा नं. ७ का वडा अध्यक्ष लक्ष्मण खड्काको प्रमुख आतिथ्यता, अपाङ्ग कल्याण संघ गजुरीका अध्यक्ष गुणराज खतिवडा र रेडियो बिहानी ९७.६ मेगाहर्जका स्टेशन म्यानेजर सञ्जय देवकोटाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ५ दिनसम्म सहभागीहरुले अपाङ्गहरुले पाउने हक अधिकारलाई कसरी सहजीकरण गर्ने ?, समूह गठनका फाइदाहरु, बैठक कसरी सञ्चालन गर्ने ?, समूह परिचालन गर्ने तरिका, अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानमा पहल कसरी गर्ने, प्रतिवेदन तयार पार्ने तरिका, माइन्युट उठाउने तरिका, योजना माग गर्ने तरिका, समूहमा विवाद हुनाका कारण र समाधानको उपायका बारेमा धेरै कुराको ज्ञान हासिल गरेको सहभागीहरुले बताएका थिए ।
तालिमका प्रमुख प्रशिक्षक रहनु भएका रामदेव चौधरीले अपाङ्गता भएका व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नआएकाले त्यसलाई परिवर्तन गर्न अपाङ्गहरु नै सचेत हुनुपर्ने बताउनु भयो । जनचेतना जगाउने, क्षमता अभिवृद्ध गराउने र आर्थिक सम्बृद्धि गराउने तालिमको मूल उद्देश्य रहेको समेत बताउनु भयो ।
अपाङ्ग कल्याण समिति गजुरीका अध्यक्ष गुणराज खतिवडाले हामी अपाङ्ग होइनौ हाम्रो सामाजिक संरचनाले अपाङ्गता बनाएको बताउँदै विभिन्न सार्वजनिक भवन, संघ, संस्था, सरकारी कार्यालय, स्वास्थ्य चौकी, विद्यालय अपाङ्मैत्री बनाउनु पर्ने बताउनु भयो । यस्तै शिद्धालेक गाउँ पालिका वडा नं. ७ का वडा अध्यक्ष लक्ष्मण खतिवडाले अपाङ्गहरुको आर्थिक, सामाजिक मनोबल बृद्धि गर्न आफूले हरदम सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
यस्तै कार्यक्रमका सभापति समेत रहनु भएका परिलक्षित संस्थाका निमित्त कार्यकारी निर्देशक सूर्य थापाले कैलाली, बाके, धादिङ र कास्कीमा ३१ वटा समूह रहेको र उक्त समूहमा आबद्ध १ सय ६ जना अपाङ्गता भएका व्यक्तिहरु स्वरोजगार बनेको बताउनु भयो ।
कार्यक्रमको सहजीकरण प्रमुख प्रशिक्षक रामदेव चौधरी र विष्णु विभु घिमिरेले गर्नु भएको थियो । परिलक्षित संस्थाले धादिङको शिद्धालेक, गल्छी, गजुरी र नीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई समूह निर्माण गरी आफ्नो कार्यक्रम सञ्चालन गरिराखेको छ । समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस