नेपालमा कोरोनाविरुद्ध लगाइएको खोपको प्रभावकारिता राम्रो देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानबाट खोप लगाएका १३ हजार १ सय ६१ जनाको नमूना परीक्षण गर्दा ९० प्रतिशतसम्म एन्टिबडी विकास भएको देखिएको हो । सर्वेक्षणमा प्राप्त नतिजा अनुसार देशभर कूल ६८.६ प्रतिशत नमूनामा कोभिड १९ एन्टिबडी देखिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले सीआईएन सँग बताउनुभयो । उहाँका अनुसार एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएकामा ९० प्रतिशत एन्टिबडी देखिएको छ ।
मन्त्रालयले गत असार २१ गतेदेखि ३० साउनसम्म खोप लगाएका मानिसको नमूना परीक्षण गरेको थियो । सो नतिजाका आधारमा नेपालमा प्रयोग भएको खोप अत्यन्त प्रभावकारी देखिएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो । नेपालमा भेरोसेल, जोन्सन एण्ड जोन्सन, कोभिसिल्ड लगायत खोप प्रयोग गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या ५० लाख ६३ हजार ५२२ रहेका छन् । पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ४० लाख ५२ हजार ७ सय ६५ रहेको छ ।
source : CIN
प्रतिक्रिया दिनुहोस