नेकपा माओवादी केन्द्रले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।
त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैठकमा मुख्यतयाः केन्द्रीय समितिले स्थायी समितिलाई दिएको निर्देशन र जिम्मेवारी पूरा गर्ने एजेन्डामा छलफल भयो । त्यो छलफलअनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला समितिका जसलाई अहिले जिल्ला समन्वय समितिमा रूपान्तरण गरिएको छ, इन्चार्जहरू तोक्ने काम भएको छ । यसका साथसाथै अब हामीले राष्ट्रिय सम्मेलनलाई केन्द्रविन्दुमा राखेर वडा अधिवेशन, पालिका अधिवेशन र त्यस पछाडि प्रदेश अधिवेशन गर्ने सम्बन्धमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली तय गरेको छ ।’
साथै बैठकले कोभिड महामारीमा नागरिकलाई सहयोग गर्ने विषय र कोभिडसँग जुध्न एकताबद्ध हने विषयमा पनि छलफल गरेकाे प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयाे । बैठकले पार्टीलाई व्यवस्थित र विधिसङ्गत रूपले सञ्चालन गर्दै अन्य कम्युनिस्ट शक्तिहरूसँग एकता र ध्रुवीकरणका लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको पनि उहाँले बताउनुभयाे ।
मन्त्रिपरिषद् विस्तारको सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले माधवकुमार नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता प्रक्रिया पूरा भइसकेपछि मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो । उज्यालो अनलाइबाट
प्रतिक्रिया दिनुहोस