धादिङ ०५ भाद्र
नेपाली कम्युनिष्ट आन्दोलन नै सिध्याउने अभियानमा केपी ओली लागेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं धादिङका प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डेले बताएका छन् ।
शनिबार नेकपा एमालेबाट विभाजित हुँदै बनेको नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन युवा संघ धादिङको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै पाण्डेले सो कुरा बताएका हुन् । नेता पाण्डेले केपी शर्मा ओली राष्ट्र कै कलंक भएको बताउँदै ओलीले एकताका सबै ढोका बन्द गरेपछि माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी जन्मिएको प्रष्ट पारे ।
नेता पाण्डेले माओवादीसँग एकता हुँदै नेकपा नबनेको भए एमाले ५० सिटमा खुम्चने बताउँदै माओवादीसँगको एकतापश्चात मात्र प्रत्यक्षतर्फ ८० सिट र समानुपातिकसहित १२१ सिट जित्न सफल भएको जिकिर गरे ।
बैठकलाई सम्बोधन गर्दै अर्का नेता गुरु बुर्लाकोटीले हालको लोकतान्त्रिक गठबन्धन आगामी चुनावसम्म निरन्तर रहने जिकिर गरेका छन् । चुनाव चिह्न भन्दा पनि विचार महत्त्वपूर्ण हुने बताउँदै नेता बुर्लाकाटीले नेकपा एकीकृत समाजवादी पार्टीले विचार र योजना दिएर तमाम जनताहरुको मन जित्ने ठोकुवा समेत गरे ।
बैठकमा नेकपा एकीकृत समाजवादी समर्थित युवा संघमा आवद्ध सयौँ युवाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस