धादिङ १७ श्रावण
धादिङमा धमाधम विद्यालयहरु भौतिक उपस्थितिमै सञ्चालन हुन थालेका छन् । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन बिनानै विद्यालयहरु भौतिक उपस्थितिमै सञ्चालन हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने हो कि भन्ने अभिभावकहरुमा चिन्ता बढेको छ । मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायम नै रहेको अवस्थामा भौतिक रुपले पठनपाठन नगर्न सर्कुलर जारी गरेता पनि विद्यालयहरु धमाधम खुलेका हुन् ।
प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले विद्यालय सञ्चालन गर्न कुनै स्वीकृति तथा अनुमति नदिएको र डिसिएमसिको बैठकमा पनि यसबारे कुनै निर्णय नभएको बताउनु भयो । यस्तै ढकालले कोभिड १९ को जोखिम कायम नै रहेको यो अवस्थामा बिद्यालय सञ्चालन गर्न उपयुक्त नभएको समेत बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल
तपाईँहरुले विद्यालय सञ्चालन गर्न अनुमति दिएको हो ? भन्ने हाम्रो प्रश्नमा नीलकण्ठ नगरपालिका धादिङका शिक्षा अधिकृत एवं सूचना अधिकारी तुल बहादुर महतले नगरपालिकाको शिक्षा समितिबाट विद्यालय भौतिक रुपमा पठन पाठन सम्बन्धमा कुनै पनि निर्णय र परिपत्र नभएको बताउनु भयो ।
उता बेनिघाट रोराङ गाउँपालिकाका शिक्षा अधिकृत बोधराज पाठकले भने थोरै संख्यामा विद्यार्थी भएकार संक्रमणको जोखिम कम भएका ग्रामीण भेगका विद्यालयहरुमा मात्र भौतिक रुपमा पठन पाठन भएको स्वीकार गर्नुभयो ।
शिक्षा अधिकृत बोधराज पाठक
जिल्लाका विभिन्न स्थानीय तहहरुले आफूखुसी निर्णय गरेर विद्यालय सञ्चालन गरेका छन् भने कतिपय स्थानीय तहमा विद्यालय आफैले निर्णय गरेर भौतिक पठन पाठन सुरु गरेका छन् । धादिङबेसीकै नीलकण्ठ मावि, एडभान्स एकेडेमी, किबो बोर्डिङ लगायतका विद्यालयहरुमा धमाधम भौतिक रुपमा पठन पाठन भैरहेको छ ।
यस्तै कुमारीदेवी माध्यमिक विद्यालय ज्यामरुङमा २ जना शिक्षक कोरोना पोजेटिभ रहेकै अवस्थामा भौतिक पठनपाठन भएको सहकर्मी प्रशान्त ढउन्याले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस