धादिङ जेष्ठ २८
शैक्षिक गुणस्तरका साथ साथै खेलकुद र अतिरिक्त कृयाकलापमा पनि धादिङ आवासीय माध्यमिक विद्यालय अब्बल रहेको शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यले बताउनु भएको छ । प्रथम मेयर कप भलिबल प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई बधाइ ज्ञापन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । पढाइमा निश्चित व्यक्तिमात्र प्रथम, द्धितीय र तृतीय हुने तर खेलकुदको क्षेत्रमा सबै सफल हुने भएकाले नै पढाइसँगै खेलकुद र अतिरिक्त कृयाकलापलाई जोड्नुपर्ने बताउनु भयो । विद्यार्थीहरुलाई हरेक कार्यक्रमहरुमा सहभागी गराई उनीहरुलाई उचित अवसर प्रदान गर्दै उनीहरुमा अन्तरनीहित प्रतिभालाई प्रस्फुटन हुने अवसर प्रदान गर्नुपर्ने बताउनु भयो । “म विद्यार्थीका लागि र मेरा लागि विद्यार्थी” भन्ने मूल मर्मलाई आत्मसाथ गर्न सके शैक्षिक क्षेत्रमा आमूल परिवर्तन हुने उहाँको धारणा थियो ।
धादिङ आवासीय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै विद्यालय सञ्चालक समिति सदस्य कृष्ण् प्रसाद दाहाल, गोविन्द प्रसाद पण्डित, गणेश हिमाल क्याम्प्सका क्याम्पस प्रमुख ईश्वरी प्रसाद पाण्डे, विद्यालयका कानुनी सल्लाहका विश्वराज अधिकारी, रेडियो बिहानीका स्टेशन म्यानेजर सञ्जय देवकोटा, अन्नपूर्ण पोष्टका धादिङ संवाददाता मनिष दुवाडी लगायतको आतिथ्यता रहेको थियो । भर्खरै सम्पन्न नीलकण्ठ नगरपालिका स्तरीय प्रथम मेयर कप प्रतियोगितामा धादिङ आवासीय माध्यमिक विद्यालयका कक्षा ११/१२ मा अध्ययनरत छात्र विद्यार्थीहरु प्रथम र छात्रा विद्यार्थीहरु सान्त्वना भएका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै गणेश हिमाल क्याम्पसका क्याम्पस प्रमुख एवं विद्याय सञ्चालक समिति सदस्य ईश्वरी प्रसाद पाण्डेले शैक्षिक उपलब्धीका हिसाबले जिल्लामात्रै नभएर देशकै उत्कृष्ट रहेको धादिङ आवासीय माध्यमिक विद्यालय, न्यु धादिङ बोर्डिङ स्कुल र गणेश हिमाल क्याम्पस खेलकुद र अतिरिक्त कृयाकलापको क्षेत्रमा पनि अब्बल रहेको बताउनु भयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दे न्यु धादिङ बोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं विद्यालय सञ्चालक समिति सदस्य कृष्ण प्रसाद दाहालले एस.इ.इ र एस.एल.सि. परीक्षामा राष्ट्रिय स्तरमै सातौँ नम्बरमा रहेको धादिङ बोर्डिङ खेलकुद र अतिरिक्त कृयाकलापमा पनि अग्र स्थानमा रहनको लागि विद्यार्थी, शिक्षक, विद्यालय सञ्चालकहरु र अभिावक तथा सरोकारवालाहरुको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
यस्तै कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम अधिकारीले यो जितले थप नयाँ कार्यक्रम ल्याउन र विद्यालयको अतिरिक्त कृयाकलापहरुलाई परिमार्जित र परिस्कृत बनाउनको लागि थप हौसला प्रदान गरेकाले विद्यार्थीहरुको माग, परिवर्तित समय अनुसार खेल क्षेत्रलाई पनि व्यवस्थिति बनाउदै लैजाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
धादिङ आवासीय माध्यमिक विद्यालय मेयर कपसँगै नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा द्धितीय र जिल्ला स्तरीय भलिबल प्रतियोगितामा तृतीय हुन सफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस