धादिङ ०९ श्रावण
नेकपाका संस्थापक सदस्य स्वर्गीय नर बहादुर कर्माचार्यको ८ औँ स्मृति दिवस धादिङवेसीमा पनि मनाइएको छ । नेकपा (माओावादी केन्द्र) धादिङका अध्यक्ष विजय वुर्लाकोटीको अध्यक्षतामा भएको स्मृति सभामा माओवादी केन्द्रका जिल्ला स्तरीय नेताहरु, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । वि.सं. १९८१ साल कार्तिक १४ गते ललितपुर जिल्लाको झपाटोलमा जन्मिएका कर्माचार्य २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राण बिरोधी आन्दोलन र मजदुर आन्दोलनमा सक्रिय भएका थिए ।
केही समय राष्ट्रिय कांग्रेसमा आबद्ध कर्माचार्य चिनिया जनक्रान्ति र भारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित भई २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने तीन हस्तीमध्ये एक हुन् । कर्माचार्यको ८९ वर्षको उमेरमा २०७० साल श्रावण ९ गते निधन भएको थियो । कार्यक्रमलाई संम्बोधन गर्दै माओवादी केन्द्र धादिङका अध्यक्ष विजय बुर्लाकोटीले कर्माचार्यले २००६ सालमा कम्युनिष्ट पार्टी स्थापनाका लागि पु¥याउको पुराएको योगदानको चर्चा गर्दै कम्युनिष्टहरुले आफ्नो चरित्र र ब्यवहारलाई कम्युनिष्टको जस्तो बनाउनु पर्नेमा जोड दिनुभयो ।
माओवादी केन्द्र धादिङका जिल्ला सचिवालय सदस्य दिपक विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी नेता बिमल तामाङ, युवा नेता राजाराम रिजाल, मजदुर नेता वद्रि सुवेदी, बिनोद बाबु रिजाल, पार्टी प्रदेश कमिटी सदस्य सम्भु श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा कर्माचार्यको तस्विरमा माल्यार्पण गरिएको थियो ।
यस्तो छ नरबहादुर कर्माचार्यको जीवनी
नरबहादुर कर्माचार्यको जन्म विक्रम सम्बत १९८१ साल कात्तिक १४ गते भाइटीकाका दिन बुबा चन्द्रबहादुर कर्माचार्य र आमा श्रीकुमारी कर्माचार्यको कोखबाट भएको थियो। ृ१ेृ२े उनी ललितपुर जिल्लाको झपाटोलमा जन्मिएका हुन् । नरबहादुर कर्माचार्य बिसं २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राणा विरोधी आन्दोलन र मजदुर आन्दोलनमा सक्रिय थिए। त्यही क्रममा उनी जेल पर्नुका साथै निर्वासनमा समेत जानुपरेको थियो। उनले त्यतिबेला राष्ट्रिय कांग्रेसका नेताहरूलाई मिलाउन महत्त्वपूर्ण भुमिका खेलेका थिए। राष्ट्रिय कांग्रेसबाट देश र जनताको पक्षमा केही नहुने रहेछ भन्ने निष्कर्षमा पुगेर अर्को क्रान्तिकारी पार्टी निर्माणमा लागेका कर्माचार्य चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित थिए। २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने तीन हस्तीमध्ये नरबहादुर कर्माचार्य पनि एक थिए। पुष्पलाल श्रेष्ठको नेतृत्वमा नारायणविलास जोशी र निरञ्जन गोविन्द वैद्य र कर्माचार्य मिलेर भारतको कलकत्तामा अवस्थित बडाबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।
कम्युनिष्ट पार्टीको गठन पश्चात उनी मजदुर सङ्गठनका पनि संस्थापक अध्यक्ष थिए। उहाँ पार्टीले सञ्चालन गरेका विभिन्न राजनीतिक आन्दोलनहरूमा सक्रियतापूर्वक लाग्दै २०१६ सालमा तत्कालिन ललितपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी वि.सं. २०१९ सालमा तेस्रो महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए। त्यसपछि पार्टी फुट र विभाजनको शृङ्खला सुरु भएपछि उनी लगायत केही साथीहरू स्वतन्त्र भएर कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनथाले ।
उनले विभाजित समूहहरूलाई एकीकृत बनाउन निरन्तर पहल र प्रयत्न गरे। यही क्रममा चौथो महाधिवेशनमा एकताबद्ध भएर केन्द्रीय सदस्य पनि भए। नेकपा एकता केन्द्र निर्माण हुँदा उनी एकता केन्द्र तदर्थ समितिको अध्यक्ष समेत भए। जीवनको अन्तिम समयमा एकीकृत नेकपा माओवादीको संरक्षक भएका कर्माचार्य जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय भैरहे। उनी जीवनभर अविवाहित रहे ।
नरबहादुर कर्माचार्यको निधन ८९ वर्षको उमेरमा बिसं २०७० साल साउन ९ गते बुधबार काठमाडौंको मोडल अस्पतालमा भएको हो । उनको निधन जण्डिस र निमोनियाका कारण भएको हो । निधन पछि पार्थिव शरीरलाई बिहान ९ बजेसम्म एकीकृत नेकपा माओवादीको पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडा र ९ बजेपछि अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको थियो। कर्माचार्यको साउन ९ गते बुधबार राष्ट्रिय सम्मानकासाथ पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरियो ।
प्रतिक्रिया दिनुहोस