धदिङ जेष्ठ २९
उत्तरी धादिङको रुवीभ्याली गाउँ पालिका वडा नं. ५ लापामा आधुनिक अल्लो कपडा बुनाई तालिम सञ्चालन भएको छ । सडक सञ्जालले नछोएको जिल्लाको सबैभन्दा माथिल्लो गाउँ पालिकामा पर्ने लापामा विशेष गरी तामाङ समुदायको वस्ती रहेको छ । एक महिनासम्म चल्ने तालिम यही जेष्ठ ५ गतेबाट सुरु भएको हो । आधुनिक अल्लो कपडा बुनाई तालिममा वडा नं. ५ का २० जना महिलाहरुको सहभागिता रहेको छ । भौगोलिक रुपमा बिकट भएता पनि अत्यन्तै रमणीय र पर्यटकीय ठाउँ लापामा भएको तालिममा घरेलु तथा साना उद्योग विकास समिति धादिङको आर्र्थिक तथा प्राविधिक सहयोग र रुवीभ्याली गाउँ पालिका वडा नं. ५ को सहजीकरण रहेको छ ।
तालिम पश्चात परम्परागत रुपमा गर्दै आएको कपडा बुनाईलाई आधुनिक, छिटो र सजिलो तरिकाले सञ्चालन गरी जीविकोपार्जनमा सहजता ल्याउनुका साथै महिलाहरुलाई रोजगार बनाउने वडा नं. ५ का वडा अध्यक्ष धिराज तामाङले बताउनु भयो । विशेष गरी ढाकाको राडी पाखी बुन्ने, टोपी, झोला बुन्ने सीप भएका तामाङ समुदायका महिलाहरुलाई यो तालिमपश्चात अझै आधुनिक रुपमा कपडा बुन्न सहजता ल्याउने छ । उच्च पहाडी भूभागमा सजिलै पाइने अल्लोको धागोबाट बुनिने कपडाहरु नेपाल मात्र नभएर विदेश निर्यात हुने गरेका छन् साथै नेपाल आउने पर्यटकहरुको मुख्य आकषर्णको रुपमा समेत रहेको छ ।
के हो त अल्लो ?
अल्लो वा चाल्ने सिस्नो नेपालको पहाडी भूभागका जङ्गलहरूका खुल्ला स्थान, खोला तथा बाटोको छेउछाउका ओसिलो स्थानमा पाइने वनस्पति हो । बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति ३ मिटरसम्म अग्लो हुने गर्दछ । सिस्नो जस्तै देखिए पनि अल्लो १२०० मिटरभन्दा माथि मात्रै पाइन्छ । यो वनस्पतिको जमिन माथिको भाग मसिना तिखा विषालु काँडाहरूले ढाकेको हुन्छ । काण्डको बोक्राबाट प्राप्त हुने रेसा नरम, बलियो र चम्किलो हुने भएकोले यसको रेसा धागो उत्पादनमा प्रयोग गरिन्छ । अल्लो धागोबाट जुत्तादेखि टोपीसम्मका विभिन्न कपडा, झोला आदि बनाइन्छ ।
प्रतिक्रिया दिनुहोस