धादिङ ०५ श्रावण
धादिङका यातायात व्यवसायीहरु आन्दोलित भएका छन् । केन्द्र सरकारले बढाएको भाडादर धादिङमा पनि लागु हुनुपर्ने भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । व्यवसायीहरुले सार्वजनिक सवारी साधनहरु बन्द गरेर आन्दोलन गरेका हुन् । केही दिन अघि धादिङका यातायात व्यवसायीहरुले संघीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतले वृद्धि गरेसँगै धादिङका यातायात व्यवसायीहरुले पनि भाडादरमा वृद्धि गरेका थिए । सोही भाडादर अनुसार पैसा उठाउँदा प्रशासनले जरिवाना लगाएको भन्दै व्यवसायीहरुले यातायातका साधन ठप्प बनाएका हुन् ।
डिजेल पेट्रोलको भाउ बढेसँगै संघीय सरकारले बढाएको २८ प्रतिशतका आधारमा हामीले धादिङमा पनि भाढा समायोजन गरिएको हो । यसरी समायोजन गरेर भाडा वृद्धि लागु गर्दा प्रहरीद्धारा सवारी साधनलाई जरिवाना तिराउने कारबाही गर्ने जस्ता धरपकड भएकाले बाध्य भएर सवारी साधन बन्द गरी आन्दोलनमा होमिनु परेको ग्रामीण यातायात सहकारी संस्थाका महासचिव वद्रि प्रसाद सुवेदीले बताउनु भयो ।
यसअघि १ सय ८५ रुपैँया कायम रहेको धादिङ काठमाडौँको भाडादर वृद्धि भएर हाल २ सय ३५ रुपैँया कायम भएको छ । २०७१ सालदेखि एउटै भाडादरमा यातायात सञ्चालन गरिरहेकाले तेलको मूल्य वृद्धि, चालक सहचालकको तलबमान वृद्धि, राजस्व वृद्धि आदि कारणले पनि भाडा समायोजन गर्न बाध्य भएको यातायात व्यवसायीहरुको गुनासो छ ।
यस्तै बढाइएको भाडा तत्काल फिर्ता लिन माग गर्दै नेवि संघ धादिङले अपिल गरेको छ । मङ्गलबार एक विज्ञप्ती जारी गर्दै नेवि संघ नीलकण्ठ क्याम्पस इकाईले धादिङका यातायात व्यवसायीहरूले आफुखसी बढाएको सार्वजनिक यातायातको भाडा र पेट्रोलियम पदार्थको मृल्यबृद्धि घटाउन माग गरेको हो । पेट्रोलियम पदार्थको मुल्य र यातायातको भाडादरमा वृद्धिले दैनिक उपभोग्य वस्तुको मुल्य समेत बढ्ने भएकाले जनताको जीविका र विद्यार्थीको दैनिक जीवन कष्टकर बन्ने हुँदा पेट्रोलियम पदार्थको मुल्य र भाडादरमा गरिएको वृद्धि फिर्ता लिन आग्रह गरिएको विज्ञप्तीमा भनिएको छ । यसअघि माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले पनि समायोजित भाडादर फिर्ता लिन विज्ञप्ती मार्फत आग्रह गरिसकेको थियो ।
प्रतिक्रिया दिनुहोस