धादिङ २७ आषाढ
वडा कार्यालय भवन घर कायम हुनुपर्ने माग राख्दै धादिङको नीलकण्ठ नगरपालिका वडा नं. २ का स्थानीयहरु आन्दोलित भएका छन् । संयुक्त संघर्ष समिति बनाई करिब १५ सय जनताहरु विभिन्न ६ बुँदे माग राख्दै आइतबार जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी कार्यालय र वन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।
६ बुँदे मागहरुमा वडा कार्यालय बसाह भनि गरिएको निर्णय खारेज हुनुपर्ने, वडा कार्यालय भवन निर्माणका लागि जग्गा पासको प्रकृया रोकिनुपर्ने, ८० प्रतिशत वडाबासीलाई पाएक पर्ने ठाउँमा वडा कार्यालय निर्माण गरिनुपर्ने, ठेक्का टेन्डर भएकै स्थान भवनघरमा नै यथासिघ्र वडा कार्यालय भवन निर्माण कार्य अगाडि बढाइनुपर्ने, अस्थायी वडा कार्यालय सञ्चालन रहेको स्थानमा वडा सचिव पठाउनुपर्ने र जिल्ला प्रशासन, मालपोत, नापी कार्यालय जस्ता सम्बन्धित निकायले जग्गा पास जस्तो विषयमा गहन छलफल गरी जनताको हितमा ध्यान राख्नुपर्ने रहेका छन् ।
२०७६ साल श्रावण २८ गते बसेको नीलकण्ठ नगरकार्यपालिकाको बैठकले वडा नं.–२ को वडा कार्यालय भवन भवनघरमा निर्माण गर्ने निर्णय गरेको थियो । सोही अनुसार २०७६ साल असोज ५ गते टेन्डर आह्वान भई संरचना निर्माण समेत सुरु भएको थियो । बिचमा नगरप्रमुख भिम प्रसाद ढुङ्गानाले राजनैतिक स्वार्थमा परी एकलौटी रुपमा नगर सभामा एजेन्डा नै पेश नगरी बहुमतको दम्भका आधारमा बसाहमा वडा कार्यालय बनाउने निर्णय गरेकाले आन्दोलित हुन बाध्य भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले नगर सभाले गरेको निर्णय रोक्ने अधिकारी जिल्ला प्रशासन कार्यालयलाई नभएकाले विधि प्रकृया पुगेको रहेनछ भने थप अध्ययन गर्ने बताउनु भयो ।
यस्तै नगरउपप्रमुख मनराज भण्डारीले कानुनी प्रकृया र जनमतको कदर गर्नुपर्ने बताउँदै भवनघरमा नै वडा कार्यालय हुनुपर्ने भन्दै ८० प्रतिशत जनता र सबै राजनैतिक दलका प्रतिनिधि एक ठाउँमा उभिएकाले नगर प्रमुखले चोर बाटोबाट गरेको निर्णय कुनै हालतमा मान्य नहुने बताउनु भयो ।
भिडियोको लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस