धादिङ जेष्ठ २६
सन्तोष काफ्लेको निमार्ण तथा सुवास जि.सी.को निर्देशनमा बन्न लागेको नेपाली कथानक चलचित्र “लभ हो” को आज धादिङबेसीमा एक कार्यक्रमका बीच शुभ मुहुर्त कार्यक्रम सम्पन्न गरिएको छ । नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले नरिवल फुटाएर चलचित्रको शुभ मुहुर्त गर्नु भएको हो । सामाजिक सन्देशलाई मुख्य विषयवस्तु बनाएको चलचित्र धादिङको नीलकण्ठ नगरपालिकाभित्रका ठाउँहरुमा छायाङ्कन गरिने छ । प्रदिप जि.सी, विश्व देवकोटा, रवि भट्टराई, प्रकाश ढकाल सहायक निर्माता रहनुभएको चलचित्रमा सन्तोष काफ्लेले कथा लेख्नु भएको छ ।
चलचित्रमा सितल के.सी., प्रेम भारती, विशाल लिम्बु, दिप्ती तामाङ, सुवास अर्याल दर्शने, धर्मेन्द्र श्रेष्ठ, प्रतिभा ढकाल, जुनु जि.सी लगायतका कलाकारहरुको अभिनय रहने छ । यस्तै विश्व देवकोटाको गीत र वसन्त सापकोटाको सङ्गीत रहने चलचित्रमा मेलिना राई, वसन्त सापकोटा, राज सिग्देल लगायतका चर्चित कलाकारहरुले स्वर दिएका छन् । शुभ मुहुर्त कार्यक्रममा बोल्दै ढुङ्गानाले सामाजिक कथालाई आधार बनाई बन्न लागेको चलचित्र सफलताको शुभकामना दिनुका साथै नगरपालिकाले आवश्यक साथ र सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । ईन्जोए मुभिज् प्रा.लि. र यूनिक मिडिया नेटवोर्कको सम्युक्त प्रश्तुती रहने चलचित्रमा समाजमा भएको हत्या, हिंसा, बलत्कारको घटनालाई यथार्थ रुपमा देखाउने उदेश्यले निर्माण गर्न लागिएको निर्देशक जि.सी ले बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस