धादिङ २३ आषाढ
धादिङको ज्वालामुखी गाउँपालिका–२ मैदीमा प्रधानमन्त्री रोजगार कार्यक्रमका मजदुरहरुबाट धम्कीपूर्ण ढङ्गले रकम असुली गरेको पाइएको छ । स्थानीय लाल बहादुर कार्कीले ३७ जना मजदुरबाट जनही ७ हजार देखि २२ हजारसम्म रकम असुली गरेपछि पीडित मजदुरहरुले जिल्ला प्रहरी कार्यालय, धादिङमा उजुरी दिएका छन् । वडा नं.–२ मा सडक मर्मत कार्यमा संलग्न मजदुरहरुले साँधभञ्ज्याङमा रहेको मेघा बैंक शाखाबाट रकम निकालेर बाहिर निस्कने बित्तिकै स्थानीय लाल बहादुर कार्की र भाजुरामे भनिने रामकृष्ण श्रेष्ठले मजदुरहरुसँग जबर्जस्ती रकम मागेको र नदिएमा काट्छु मार्छु भनि धम्क्याएकाले बाध्य भएर रकम दिएको मजदुरहरुको गुनासो छ ।
आफूले पाएको पारिश्रमिक बापतको रकम जबरजस्ती असुलेपछि मजदुरहरुले न्यायका लागि गाउँपालिकामा निवेदन दिएको र गाउँपालिकाले कुनै सुनुवाई नगरेकाले बाध्य भएर जिल्ला प्रहरी कार्यालय आउनु परेको गुनासो गरेका छन् । २० जना मजदुरहरु जिल्ला प्रहरी कार्यालय, धादिङमा उपस्थित भई आरोपीहरुलाई तत्काल पक्राउ गरी अनुसन्धानको प्रकृया अगाडि बढाउन लिखित निवेदन सहित माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस