धादिङ,१४ असार ।
धादिङको गंगाजमुना गाउँपालिका वडा नं. १ रि गाउँकी १७ वर्षीय सुमिना तामाङलाई हेलिकप्टरमार्फत गाउँपालिकाले उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाएको छ । गर्भवती तामाङलाई सुरक्षित प्रसुतीको लागि री स्वास्थ्य चौकीमा राख्दा प्रसव बेथा लामो भएको कारण गाउँपालिकाले हेलिकप्टरमार्फत काठमाडौँ रेफर गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिनुभयो ।
तीन दिन देखि प्रसुती सेवाका लागि रि स्वास्थ्य चौकीमा ल्याईएकी तामाङको थप उपचारको लागि एयर डाइनेस्टीको हेलिकप्टर मार्फत प्रसुती गृह थापाथली पठाइएको हो । गाउँपालिकाले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निःशुल्क हवाई उद्धार निर्देशिका २०७७ अनुसार गाउँपालिकाका ७ वटै वडामा जटिल समस्या भएका गर्भवती तथा सुत्केरी महिलालाई तत्कालै अस्पताल र्पुयाइ उहाँहरुको जीवन रक्षा गर्ने उद्देश्यका साथ कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइएको थियो ।
गाउँपालिकाको यो कार्यक्रमले जटिल समस्या भएर गर्भवती तथा सुत्केरी महिलाको अकालमै हुनसक्ने सम्भावित मृत्यु र जोखिमबाट बच्न सक्ने र मातृ तथा शिशु मृत्युदर शुन्यमा झार्ने योजनालाई महत्त्वपूर्ण सहयोग पुग्ने स्वास्थ्य संयोजक अधिकारीले बताउनु भयो । कोही पनि गर्भवती र सुत्केरी महिलाको अकालमा ज्यान नजाओस् आमा र बच्चा सुरक्षित रहुन् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्नै खर्चमा जटिल समस्या भएका गर्भवती र सुत्केरी महिलाको हवाइ उद्धार गर्ने कार्यक्रम ल्याएको अधिकारीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस