धादिङ, ११ असार ।
रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ स्थित लापाकी एक गर्भवती महिलाको सुरक्षित प्रशुतीका लागि हेलिकप्टरबाट उद्धार गरि काठमाडौं लगिएको छ । लापा स्वास्थ्य चौकीको पहलमा गर्भवती महिला माईली घलेलाई सुरक्षित प्रशुतीका लागि शुक्रबार बिहान ८ बजे हेलिकप्टरबाट काठमाडौं पठाईएको हो ।
वडा अध्यक्ष धिरज तामाङले हेली ल्याउन सहयोग गर्ने सहयोगीहरुलाई धन्यावाद दिँदै गर्भवती महिलाहरुलाई सुरक्षित प्रशुतीका लागि काठमाडौं लैजानु पर्ने भएमा निःशुल्क हेलिकप्टर उपलब्ध गराउने राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रशंसनिय रहेको बताउनु भयो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीहरु महिलाहरुको निःशुल्क हवाई उद्धार गर्ने कार्य निरन्तर भैरहेको छ । उक्त कार्यक्रम संचालन भएसँगै सडक संजालको पहुँच नभएको, दुर्गम तथा अति पिछडिएका स्थानमा रहेका गर्भवती तथा सुत्केरीहरु महिलाहरुको निम्ति निकै प्रभावकारी बन्दै गएको छ ।
२०७५ पौष ६ गतेबाट सुरु गरिएको निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम धादिङ सहित हालसम्म ४८ जिल्लामा लागू भएको छ । ४८ जिल्ला मध्ये १९ वटा जिल्लामा पूर्ण रुपमा लागू भइसकेको र २९ जिल्लामा आंशिक रुपमा लागू गरिएको जनाईएको छ ।
फोटो सामाजिक संजाल
प्रतिक्रिया दिनुहोस