धादिङ ०७ आषाढ
नीलकण्ठ नगरपालिकाको नगरपरिषद स्थलमा धर्ना बस्न गएका दलित अगुवाहरुलाई प्रहरीले लाठीचार्ज गरेको छ । नगरसभा सुरु हुन अघि नै कार्यक्रम स्थल बाहिर धर्ना बसेका दलित अगुवाहरुलाई प्रहरीले तितर वितर पार्दै लाठीचार्ज गरेको हो । निशुल्क शिक्षाका लागि १२ बुँदे माग राख्दै ४ महिनादेखि दलित संयुक्त संघर्ष समिति धादिङले आन्दोलन गर्दै आएको थियो ।
पटक पटक नगरपालिकामा आन्दोलन र धर्ना बस्दा पनि नगरपालिकाले दलित समुदायको मागलाई बेवास्था गरेको भन्दै दलित अगुवाहरुले सोमबार नगरसभा स्थलमा नै धर्ना दिन पुगेका थिए । नगरपालिकाले भने नगरसभा नै विथोल्ने नियतले दलित अगुवाहरु प्रस्तुत भएपछि प्रहरी परिचालन गर्नुपरेको जनाएको छ ।
प्रहरीसँगको धकेला धकेलमा दलित अगुवा राम बहादुर बस्याल र नवराज मजाकोटी सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी महेन्द्र खड्काले भने भिडभाड नियन्त्रण मात्रै गरेको बताए । दलित नेता गोपाल विश्वकर्माले भने महिनौदेखि आफूहरुको माग लिएर नगरपालिका धाउदा पनि माग सम्बोधन हुने छाट नदेखिएकोले नगरसभा भएकै स्थानमा धर्ना दिन बाध्य भएको प्रतिकृया दिएका छन् ।
सोमबार आयोजित नगरसभा अघि नै शान्तिपूर्ण धर्नामा बसेका दलितमाथि मेयर भिम प्रसाद ढुंगानाको निर्देशनमा प्रहरीले हस्तक्षेप गरेको उनको आरोप छ ।
प्रतिक्रिया दिनुहोस