धादिङ ०६ आषाढ
बागमती प्रदेश सरकार आफैले आम सञ्चारगृह सञ्चालन गर्नेे निर्णय फिर्ताको माग गर्दै नेपाल पत्रकार महासंघ धादिङ शाखाले प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापन पत्र बुझाएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालमार्फत महासंघको निवर्तमान अध्यक्ष नवराज छत्कुली सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
संघीय सरकार मातहत रहेका सञ्चारमाध्यम समेत स्वायत्त र स्वतन्त्र बनाउन गृहकार्य भइरहेको सन्दर्भमा बागमती प्रदेश सरकार आफैले आम सञ्चारगृह सञ्चालन गर्न खोज्नुले स्वतन्त्र पे्रेसलाई निरंकुशताको कडी लगाउन खोजेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सरकार आफैले सञ्चार माध्यम सञ्चालन गर्नतर्फ भन्दा पनि सञ्चारमाध्यमको प्रवद्र्धन र सञ्चारकर्मीहरुको हितमा बजेट ल्याउन माग गर्दै उक्त निर्णय फिर्ता नभए महासंघ आन्दोलनमा उत्रन बाध्य हुने समेत चेतावनी दिईएको छ ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को नीति, कार्यक्रम तथा बजेटमा प्रदेश सरकार आफैले आम सञ्चारगृह सञ्चालन गर्नका लागि १० करोड बजेट विनियोजन गरेको थियो । उक्त कदमको नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला समितिहरुले बिरोध गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस