धादिङ,६ असार ।
धादिङको नीलकण्ठ सव डिभिजन वन कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेल ४० हजार घुस सहित रंङ्गेहात पक्राउ परेका छन् । आईतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीद्वारा ४० हजार नगद सहित कार्यकक्षबाटै सहायक वन अधिकृत पौडेललाई रङ्गेहात पक्राउ गरिएको हो । पौडेलले सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्ने भन्दै कागजात तयार पारेर वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने हो भने ४० हजार नगद दिनुपर्छ भन्दै घुस मागेका थिए ।
पौडेलले घुस मागेको सेवाग्राहीले सूचना दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको आयोगको टोलीले उनलाई ४० हजार नगद घुससहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको छ । पक्राउ परेका कार्यालय प्रमुख पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कार्बाही हुने अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस