धादिङ ०१ आषाढ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ ले चालु आर्थिक वर्ष २०७७/०७८ को लक्षित वर्ग कार्यक्रम अन्र्तगत जेष्ठ नागरिकहरुलाई सम्मान, बाख्रा बितरण, नेवारी पोषाक, बाजा र आरान वितरण लगायतका विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
वडा अध्यक्ष तिलक थापामगरका अनुसार लक्षित कार्यक्रम अन्तर्गत टोल बस्तिमा गई १ सय भन्दा बढी जेष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै ८० देखि १०४ वर्ष उमेर समूहका जेष्ठ नागरिकहरुलाई साबुन, स्यानिटाइजर र मास्क वितरण गरिएको हो ।
यस्तै वडाभित्रका ७ जना अपाङ्गता भएका व्यक्ति तथा २५ जना विपन्न महिलाहरुलाई बाख्रा बितरण र बाख्राहरुको सामुहिक बिमा गरिएको अध्यक्ष थापा मगरले बताउनु भयो । वडामा मौलिक संस्कृतिलाई जगेर्ना र संरक्षण गर्ने उद्देश्यले नेवारी पोसाक तथा पञ्चे बाजा वितरणका साथै परम्परागत पेशालाई आधुनिकरण गर्न ४ सेट आरानको सामग्री बितरण पनि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस