धादिङ ३१, जेष्ठ
धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोभिड–१९ अस्पताललाई शान्ति नेपाल, धादिङले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । धादिङका विभिन्न स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउने उद्देश्यले शान्ति नेपाल, धादिङले स्वास्थ्य सामाग्री सहयोग गरेको हो । सोमबार सहयोग गरेको सामाग्रीहरुमा १० थान अक्सिजन कन्सन्ट्रेटर र ४ सय थान अक्सिजन दिंदा प्रयोग हुने मास्क उपलव्ध गराएको छ ।
अपरेसन होप सिंगापुरको सहयोगमा शान्ति नेपाल, धादिङ मार्फत धादिङ अस्पताल सहित विभिन्न स्वास्थ्य संस्थाका लागि स्वास्थ्य उपकरण र स्वास्थ्य सामाग्रीहरु उपलव्ध गराउने कार्यक्रम रहेको शान्ति नेपालका कार्यक्रम संयोजक इन्द्रमान शाक्यले बताउनु भएको छ ।
उक्त सामाग्री हस्तान्तरण गर्दै शाक्यले समुदायमा रहेको स्वास्थ्य सेवालाई समेत प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन सामग्री तथा उपकरण सहयोग गरिएको बताउनुभयो । उक्त स्वास्थ्य सामग्री ग्रहण गर्दै धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले यसमा सबैले ध्यान दिनु पर्ने बताउनु भएको थियो । उहाँले अस्पतालले प्राप्त गरेको सामग्री सही सदुपयोग हुने समेत प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, गैर सरकारी संस्था महासंघ धादिङका सचिव शालिग्राम दुवाडी लगायतले स्वास्थ्य सामाग्री सहयोग गरेकोमा शान्ति नेपाललाई धन्यवाद दिनुभएको थियो ।
अपरेसन होप सिंगापुरको सहयोगमा २२ थान अक्सिजन कन्सन्ट्रेटर र अन्य सामाग्रीहरु प्राप्त हुने र धादिङका विभिन्न स्थानीय तहले सञ्चालन गरेका अस्थायी कोभिड अस्पतालमा उपलव्ध गराउने योजना रहेको शाक्यले जानकारी दिनुभयो । त्यस्तै सामाग्रीको सही सदुपयोग गरी नागरिकलाई सेवा दिन धादिङ अस्पतालँंग आग्रह पनि गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस