धादिङ,२८ जेठ ।
तीन दिनअघि टारिबेशी स्थित आँखु खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।प्रहरीका अनुसार श्रेष्ठको शब पौडी खेल्ने क्रममा डुबेको भन्दा तीन किलोमिटर तल टारीबेसीस्थित पुल नजिकै खोलाको किनारमा ढुङ्गाले चेपेर पुरिएको अवस्थामा फेला परेको हो ।
धादिङस्थित निलकण्ठ नगरपालिका–३ का सुमन बुधबार खोलामा डुबेर बेपत्ता भएका थिए । २६ वर्षिय सुमन बिहान ८ बजे साथीहरुसँग पौडी खेल्न भन्दै आँखु खोलामा गएका थिए । खोलामा बेपत्ता सुमनको बुधबार स्थानीय पौडी बाजकहरुले खोजबिन गर्दा नभेटिएपछि उनको खोजिका लागि बिहिबारदेखी शशस्त्र प्रहरीका गोताखोरहरु घटना स्थलमा खटिएका थिए । तीन दिनदेखीको निरन्तर खोजीपछि उनको शब आज दिउँसो ३ बजे फेला परेको हो । उनले धादिङको धादिङ समाज धादिङबाट केहि महिनाअघि सम्पन्न बागमती प्रदेश एन्फा लिग समेत खेलेका थिए ।
प्रतिक्रिया दिनुहोस