धादिङ २३ जेष्ठ
धादिङबेसी भर्याङ भुरुङ सडक खण्डमा गरिएको कालोपत्रे १ वर्ष नपुग्दै उप्किन थालेको छ । ठेकेदार कम्पनीको लापरबाही तथा कमसल कच्चा पदार्थको प्रयोगका कारण उक्त सडक खण्डमा गरिएको कालोपत्रे उप्किन थालेको हो । राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार), धादिङको आयोजनामा चन्द्र ए.ड वसन्त कम्पनीले कालोपत्रे गरेको ८.५ किलोमिटर सडक धमाधम कालोपत्रे उप्किन थालेपछि स्थानीयबासी आक्रोसित भएका छन् ।
यता पुनर्निमाण प्राधिकरण धादिङका इन्जिनियर सुरज वैद्यले स्थानीयकै अबरोधका कारण ४ सय मिटर सडकमा कच्चा पदार्थ आवश्यकता भन्दा बढी प्रयोग भएकाले उप्किएको बताएका छन् । उनले निर्माण भएको १ वर्षसम्म मर्मत गर्ने जिम्मा निर्माण व्यवसायीकै भएकाले भदौ लागेपछि तुरुन्तै सडक मर्मत गरिने जानकारी दिए ।
स्थानीयहरुले भने आफ्नो कमजोरी लुकाउन ठेकेदार कम्पनीले खाल्डो परेको सडकमा बालुवा हालेर छोप्ने गरेको गुनासो गरेका छन् ।
१ वर्ष ६ महिनामा काम सम्पन्न गर्ने गरी २०७५ साल आषाढ १३ गते कुल २४ करोड ५९ लाख १४ हजार ६ सय ८४ मा ठेक्का सम्झौता गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस