धादिङ,२२ जेठ ।
धादिङ सहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । धादिङको आजको तापक्रम ३३ डिग्री आसपास रहेको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार तराईका जिल्लाको तापक्रम ३४–३५ डिग्री सेल्सियस भन्दा माथि रहेको छ । केही ठाउँको मौसम आंशिक बद्ली भए पनि जमिन तात्तिएकाले गर्मी महसुस भएको मौसमविद्ले बताएका छन् । केही दिनसम्म मौसम बद्ली भई पानी परेको र त्यस पछि मौसम सफा भई घाम लागेकाले जमिन तात्तिँदा बढी गर्मी महसुस भएको मौसमविद् अर्यालले बताउनुभयो ।
प्रत्येक दिन गर्मी बढेकाले प्रशस्त पानी पिउन डाक्टरले सुुझाव दिएका छन् । गर्मीको बेला शरीरमा पानीको अभाव हुँदा स्वास्थ्य समस्या देखिने र केहीलाई डिहाइड्रेशनको समेत हुन सक्ने डाक्टरले बताएका छन् । डिहाइड्रेशनका कारण व्यक्तिको सोच्ने क्षमता र रक्तसञ्चारमा कमी आउन सक्छ । गर्मीको समयमा पानीसँगै प्रशस्त पानी पाइने फलफूल र तरकारी खान डाक्टरको सुझाव छ । खर्बुजा, मेवा, गोलभेडा, मुला, गाजर जस्ता शरीरलाई शीतल दिने फलफूल र तरकारी खान विज्ञको सल्लाह छ ।
प्रतिक्रिया दिनुहोस