धादिङ २० जेष्ठ
स्वास्थ्य र शिक्षाको क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको टुकी नेपाल समाजले कोरोना महांमारीलाई नियन्त्रण र न्यूनीकरणका लागि स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मी सहित निःशुल्क कोरोना सचेतना अभियान सुरु गरेको छ । धादिङको नीलकण्ठ नगरपालिकाभित्र सञ्चालन भैरहेको उक्त सचेतना अभियानमा आवश्यक औषधी, मास्क, सेनिटाइजर, अक्सिमिटर, थर्मोगन, बि पि सेटका साथै अक्सिजन सहितको आफ्नै गाडीमा स्वास्थ्यकर्मी र स्थानीय स्वयंसेवक परिचालन गरी कोरोना प्रभावितहरुको घर घरमै पुगी स्वास्थ्य अवस्था परीक्षण र सचेतनाका काम गर्दै आएको समाजका अध्यक्ष कमल सापकोटाले बताउनु भयो ।
मङ्गलबार नीलकण्ठ १४ धुवाकोटबाट सुरु गरिएको अभियानको तेस्रो दिन बिहिबार नीलकण्ठ १ खाल्टेमा अभियान सञ्चालन भैरहेको विनोदबाबु रिमालले जानकारी दिनुभयो । नगरपालिकाभित्रका अति प्रभावित क्षेत्रहरुमा अभियान सञ्चालन गरी संक्रमित र संक्रमणको जोखिममा परेका नागरिकहलाई स्वास्थ्य सामग्री वितरण सहित स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना रहेको रिमालको भनाइ छ ।
साथै कोही कोरोना संक्रमित बिरामीलाई अस्पतालसम्म जानको लागि एम्बुलेन्सको अभाव भयो भने टुकी नेपाल समाजको गाडीले निःशुल्क रुपमा अस्पतालसम्म लैजाने व्यवस्थापन समेत गरेको समाजका अध्यक्ष सापकोटाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस