धादिङ जेष्ठ २२
विश्व वातावरण दिवसको अवसरमा सुनगाभा एकेडेमीले धादिङबेसी बजार क्षेत्रमा सरसफाई तथा विभिन्न जनचेतनामूलक पोष्टरहरु टास्ने कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको जुनियर रेडक्रस सर्कलको सक्रियतामा भएको कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक रामहरि अधिकारी, प्रधानाध्यापक वद्रि लम्साल, शिक्षकहरु र १०० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुले पुछार बजार बसपार्क क्षेत्रबाट सुरु गरेको सरसफाई तथा जनचेतनामूलक पोष्टर टास्ने कार्यक्रम बीचबजार हुँदै सिरानबजार पुगी पुनः विद्यालयमा आई समापन गरिएको छ । कार्यक्रमकै क्रममा विद्यार्थीहरुले विभिन्न चोक, चौताराहरुमा सरसफाई सम्बन्धी जनचेतनामूलक पोष्टरहरु टासेका थिए ।
विद्यालयका प्रबन्ध निर्देशक रामहरि अधिकारीले विद्यार्थीहरुलाई आफू, आफ्नो कोठा, घर मात्र नभइ सिङ्गो समाज नै सफा रहनुपर्छ भन्ने पाठ सिकाउनका लागि कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
प्रधानाध्यापक वद्रि लम्सालले विद्यालयले हरेक पर्व दिवसहरुमा कुनै न कुनै नयाँ कार्यक्रम गर्दै आएको र वातावरण सफा राख्न विद्यार्थीहरुको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने कुरा सिकाउनका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन गर्नुभएका शिक्षक कपिल जम्कट्टेलले विद्यार्थीहरुलाई अध्यापन मात्र नभएर सामाजिक कार्यमा पनि अग्रसर गराई समाजसँग परिचित गराउने उद्देश्यले यस्ता कार्यक्रम गरेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस