धादिङ,०७ जेठ ।
धादिङबेशीमा रहेका बैंक तथा वित्तिय संस्थाहरु एक साता सम्म बन्द गर्ने जिल्ला प्रशासन कार्यालय धादिङले निर्णय गरेको छ । शुक्रबार दिउँसो बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आईतबारदेखी धादिङबेशी क्षेत्रभित्र रहेका बैंक तथा वित्तिय संस्थाहरु एक हप्ताको लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । धादिङबेशीमा कोभिड–१९ को संक्रमणको जोखिम उच्च बन्दै गएको र बैंकहरुमा सर्वसाधारणको भिडभाड अत्यधिक बढेकोले आईतबारदेखी पूर्ण रुपमा बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्ययले जानकारी दिनुभएको छ ।
साथै कोरोना रोकथामको नाममा आफुखुसी रकम संकलन नगर्न सरोकारवालाई निर्देशन समेत दिएको छ । कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचारको कार्यमा कसैले स्वेच्छिक आर्थिक सहयोग गर्न चाहेमा कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सिधै जम्मा गर्न सकिने तर गैरकानुनी रुपमा यदि कोहि कसैले आर्थिक संकलन गरेमा कानुनी कारवाही गरिने जनाएको छ । बैठकले जिल्लामा आवश्यक पर्ने अक्सिजन सिलिण्डर भर्ने व्यवस्था मिलाउन स्वास्थ्य मनत्रालयलाई अनुरोध गर्ने, कोरोना रोकथामको लागि आयुवेर्दिक औषधी वितरण तथा मनोसामाजिक परामर्शको लागि आयुर्वेद स्वास्थ्य केन्द्रलाई अनुरोध गर्ने समेत निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस