धादिङ २३ वैशाख
पत्रकार महासंघ धादिङले बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पत्रकारहरुका लागि आफ्नै भवनमा आइसोलेशन निर्माण गर्ने निर्णय गरेको छ । कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण बढ्दै गएको अवस्थामा फ्रन्टलाइनमा रिपोर्टिङका लागि खटिने पत्रकारहरु पनि संक्रमित भइरहेको र हुनसक्ने भन्दै महासंघको बुधबार बसेको जुम बैठकले सो निर्णय गरेको हो ।
महासंघका अध्यक्ष राजाराम शर्माको अध्यक्षतामा बसेको बैठकले तत्कालका लागि २ बेडको आइसोलेशन निर्माण गर्ने र पछि आवश्यकता अनुसार थप गर्दै जाने निर्णय भएको छ । धादिङका एक जना पत्रकार संक्रमित भैसकेको र अन्य पत्रकारहरु पनि संक्रमणको जोखिममा पर्न सक्ने आंकलन गर्दै स्वास्थ्य सेवा लगायतका विषयमा सहयोग गर्न बागमती प्रदेस सरकार, नेपाल पत्रकार महासंघ, बागमती प्रदेस समिति र धादिङ जिल्लाका सरोकारवालासँग समन्वय गरी क्वारेन्टाइन÷आइसोलेशन तयार गर्ने निर्णय गरेको हो ।
संक्रमणको समयमा प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान र समन्वय गर्न उपाध्यक्ष सानुवावु तिमिल्सिनाको संयोजकत्वमा सचिव रामबहादुर ठकुरी (आशिष), सदस्य नीरमाया गुरुङ (डोल्मा), सदस्य अनिल नेपाली र सदस्य विक्रम अधिकारी सदस्य रहेको आपतकालीन अनुगमन समिति गठन गरिएको छ ।
त्यस्तै कोभिड–१९ को जोखिम न्युनीकरणको लागि पूर्व तयारी स्वरूप उपाध्यक्ष सरिता श्रेष्ठको संयोजकत्वमा द्रुत प्रतिक्रिया टोली गठन गरेको छ । यस टिमको सदस्यमा, कोषाध्यक्ष शिव देवकोटा (सञ्जय), सह–सचिव राजाराम डंगोल, सदस्य विकास रौनियार, सदस्य उपेन्द्र अधिकारी सदस्य रहनु भएको छ ।
प्रतिक्रिया दिनुहोस