धादिङ १२ वैशाख
संयुक्त दलित संघर्ष समिति धादिङले दोस्रो चरणको आन्दोलन अन्तरगत आईतबार नीलकण्ठ नगरपालिकामा धर्ना दिएको छ । संघर्ष समितिले नीलकण्ठ नगरवासी दलित जनताले राखेको १२ बुँदे माग अविलम्ब पुरा गर्दै संबिधानले तोकेको अधिकार लागु गर्नको लागि दबाब स्वरुप धर्ना दिएको हो । राज्यले दलित, गरिब बिपन्न वर्गलाई १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गरे पनि विद्यालयहरुले लागु नगरेको भन्दै केही दिन देखि दलित विद्यार्थी, दलित अगुवाहरुले बिरोध र संघर्ष गर्दै आइरहेका छन् । यसलाइ अझै प्रभावकारी र अधिकार सम्पन्न बनाउँदै दलित विद्यार्थीहरुको न्यायको निम्ति आन्दोलनमा सक्रिय सहभागिता जनाउन सबै दलित समुदायलाई आग्रह गर्दै संयुक्त दलित संघर्षका कार्यक्रमहरुलाई निरन्तरता दिदै आएको समितिले जनाएको छ । विरोध कार्यक्रममा दलित नेता गोपाल विश्वकर्मा, दिपक विश्वकर्मा, वेग बहादुर सुनार, दलित अगुवा राम बहादुर बसेल, महिला वडा सदस्य शान्ता रोक्का, गणेश बराईली लगाएतको सहभागिता रहेको थियो । नगरपालिकाले अझै पनि समितिको मागहरुलाई वेवास्ता गरेमा बैशाख २७ गते वृहत आन्दोलन गर्ने समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस