धादिङ १२ वैशाख
नेत्रावती डबजोङ गाउँपालिकाको कार्यालय ६ दिनसम्मको लागि बन्द हुने भएको छ । आईतबार गाउँपालिकाले एक सूचना जारी गर्दै नयाँ भेरियन्ट सहितको कोभिड–१९ महामारीको सङ्क्रमण नेपालमा पनि बढ्दै गएपछि आफ्नो गाउँपालिकामा पनि संक्रमण फैलने र विषम परिस्थिति सिर्जना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बैशाख १२ देखि १७ गतेसम्म गाउँपालिका कार्यालय तथा वडा कार्यलयहरु बन्द हुने सूचना जारी गरेको छ । सङ्क्रमण रोकथामका लागि समयमै सावधानी अपनाई सतर्क रहनका लागि गाउँपालिका कार्यालय तथा वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवाहरु (स्वास्थ्य तथा विपद व्यवस्थापन सम्बन्धी) बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द हुने सूचनामा भनिएको छ । साथै गाउँपालिका अन्तर्गतका बिद्यालयहरुमा निर्धारित परीक्षाहरु भने जनस्वास्थ्य मापदण्ड पालना गरी यथावत रुपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
शुक्रबार नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ४ का १४ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । सङ्क्रमण पुष्टि भएकाहरुमध्ये वडा नं ४ का एक माध्यमिक बिद्यालयका ९ जना बिद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारी रहेका छन् । स्थानीयवासीमा नै सङ्क्रमण भएपछि गाउँपालिकाले शनिबार ५२ जनाको स्वाव संकलन गरी परीक्षणको लागि पठाएको र रिपोर्ट आउन बाँकी रहेको छ । त्यस्तै गाउँपालिकाका स्वास्थ्य संयोजक तथा सूचना अधिकारी कृष्ण बहादुर पौडेलले सम्पूर्ण गाउँपालिकाबासीलाई स्वास्थ्य सुरक्षा मापदण्डसहित सतर्कता अपनाउन आग्रह गर्दै अति आवश्यक कामबाहेक भीडभाड हुने किसिमका कार्यक्रम, सभा तथा समारोह सञ्चालन नगर्न पनि आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस