धादिङ ०९ वैशाख
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ र २ सल्यानटारका महिलाले बाख्रा उपहार लिएका छन् । महिलालाई सक्षम र आत्मनिर्भर बनाउदै पशु पालनमा ब्यवसायिक बनाउने उद्देश्यका साथ गाउँपालिकाले महिलाहरुलाई बाख्राको पाठी उपहार स्वरुप प्रदान गरेको हो । बिहिबार त्रिपुरासुन्दरी गाउँपालिका, सहयात्री समाज नेपाल र हेफर इन्टरनेशनलसँगको साझेदारीमा पहिलो चरणमा १ सय ६० वटा बाख्राको पाठी प्रदान गरिएको छ । वडा नम्बर १ र २ को सानागाउँ स्वाबलम्बी महिला समुह, प्रगतिशील स्वाबलम्बी महिला समुह, कन्यादेवी स्वाबलम्बी महिला समुह र जलदेवी स्वाबलम्बी महिला समुहलाई बाख्रा प्रदान गरिएको हो । त्रिपुरासुन्दरी गाउँपालिकाभित्र विभिन्न समूह निर्माण गरि ५ सय बाख्रा प्रदान गरिने सहयात्री समाज नेपालकी कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी दिनुभयो ।
पहिलो चरणमा ७ महिना देखि १ वर्षसम्मका बाख्रको पाठी उपहार दिएको बाख्रा बिस्तारको लागि एक समूहमा एउटा बोका पनि प्रदान गरिएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष सम्भु कुमार थापाले सहयात्री र हेफरको कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तरगत समुदायमा पुगेर बाख्रा उपहार दिइएको बताउनुभयो । गाउँपालिकाले एक वर्ष भित्र एक करोड बराबरको पशुवस्तु प्रदान गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका सबै व्यक्ति सक्षम र समृद्ध बनाउने लक्ष्य सहित यो कार्यक्रम सुरु गरिएको र बाझो जग्गा भाडामा लगाउन चाहनेले पालिकामा आएर निवेदन गरे पालिकाले नै समन्वय गरेर भाडामा लिने तथा व्यवासायिको खोजी गरिदिने समेत अध्यक्ष थापाले बताउनुभएको थियो ।
गाउँपालिका उपाध्यक्ष देबि पाण्डे(बुर्लाकोटी)ले निर्वाहमूखी कृषि पशुपालनलाई ब्यवसायिक बनाउन गाउँपालिकाले कार्यक्रम गरिरहेको बताउनु भयो । महिलालाई सक्षम बनाउने र लैगिकताको आधारमा महिला सहभागिता बढाउन सहयोग पुग्ने उपाध्यक्ष बुर्लाकोटीले विश्वास व्यक्त गर्नुभएको छ ।
हेफर इन्टरनेशनलका नेपाल प्रमुख डा.तिर्थ रेग्मीले महिलाहरु संगठित गर्ने, आय आर्जन वृद्धिबाट संमृद्ध बनाउने र समाजको असल नागरिक बनाउने उद्देश्य सहित गाउँ गाउँमा कार्यक्रमहरु संचालन गरिरहेकोे बताउनु भएको थियो । उक्त कार्यक्रममा समूहमा आवद्ध महिलाहरूले पशुवस्तु पाल्ने र राम्रो बनाउने बिषयमा सन्देशमूलक गीत समेत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस