धादिङ ०९ वैशाद
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित धादिङको वेनिघाट रोराङ गाउँपालिकास्थित चन्द्रोदय माध्यमिक विद्यालयमा १० औँ धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल र बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले बल र सिट्टी हस्तान्तरण गरी प्रतियोगिताको सुभारम्भ गर्नुभएको हो ।
न्द्रोदय माध्यमिक विद्यालय विशालटारको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा छात्र तथा छात्रातर्फ एथ्लेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो र कराते लगायतका ९६ पदकका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो । जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा सुरु भएको प्रतियोगितामा नियमित अध्ययन गर्ने कक्षा १२ सम्मका १८ वर्ष मुनिका विद्यार्थीहरु सहभागी भएका छन् । प्रतियोगिताको बिजेताले प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् भने प्रदेशमा विजयी खेलाडीले राष्ट्रिय स्तरको प्रतियोगितमा सहभागिता जनाउन पाउने छन् ।
जिल्ला स्तरीय प्रतियोगिताको लागि जिल्लाका ५ वटा स्थानीय तहबाट छनौट भएर आएका खेलाडीहरुको सहभागिता रहेको छ । १३ वटै पालिकाका खेलाडीहरु समावेश गर्ने लक्ष्य रहेता पनि स्थानीय तहहरुले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना नगरेकाले समावेश गराउन नसकिएको अध्यक्ष तामाङले बताउनु भयो । प्रतियोगिताको समापन भोलि हुनेछ ।
प्रतिक्रिया दिनुहोस