धादिङ ०८ वैशाख
धादिङमा ढिलो गरी सुरु भएको स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी नभएको सरोकारवालाहरुको गुनासो छ । धादिङ जिल्लामा २०७६ माघ ७ गतेबाट सुरु भएको स्वास्थ्य विमा कार्यक्रममा हालसम्म १४ हजार ७ सय ६ जना नागरिकहरु र २ हजार २० घर परिवार मात्र समेटिएको स्वास्थ्य विमा बोर्ड धादिङका प्रमुख संगम अर्यालले जानकारी दिनुभयो । २०६८ सालको जनगणना अनुसार धादिङ जिल्लाको जनसङ्ख्या ३ लाख ३६ हजार ६७ रहेको छ । यसको अनुपातमा हेर्दा न्यून मात्रामा धादिङका नागरिकहरु स्वास्थ्य विमा कार्यक्रममा समेटिएको देख्न सकिन्छ ।
पालिकागत रुपमा हेर्दा हालसम्म बेनिघाट रोराङ गाउँपालिकामा १ हजार ३ सय ४८, धुनिवेसी नगरपालिकामा १ हजार १ सय ६८, गजुरी गाउँपालिकामा १ हजार ५ सय ९०, गल्छी गाउँपालिकामा २ हजार ३ सय ६, गंगाजमुना गाउँपालिकामा ५ सय ६९, ज्वालामूखी गाउँपालिकामा ७ सय ५, खनियाबास गाउँपालिकामा १ सय ७७, नेत्रावती डबजोङ गाउँपालिकामा १ सय ८५, रुविभ्याली गाउँपालिकामा ३ सय ५३, सिद्धलेक गाउँपालिकामा १ हजार ३, थाक्रे गाउँपालिकामा १ हजार ५ सय ४७, त्रिपुरासुन्दरी गाउँपालिकामा १ हजार २ सय ९र नीलकण्ठ नगरपालिकामा २ हजार ४ सय ४६ जना स्वास्थ्य विमा कार्यक्रममा समेटिएको स्वास्थ्य बिमा बोर्ड धादिङका प्रमुख अर्यालले बताउनु भयो ।लैङ्गिक रुपमा हेर्दा महिला ७ हजार १ सय ७८ र पुरुष ७ हजार ५ सय २८ जना रहेका छन् । ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक, पूर्ण अपाङ्गता भएका नागरिक, एम.डि.आर टिबि र एचआइभि सङ्क्रमितका परिवारलाई पूर्ण निःशुल्क र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई ५० प्रतिशत छुटमा कार्यक्रम सञ्चालन भैरहेको छ ।
जिल्लाका १ सय ४ वटै वडामा दर्ता सहयोगीहरुले सङ्कलन गरेर ल्याएको सदस्यतालाई वर्षभरुी ४ वटा चरणमा सेवा क्रियाशील गराउने गरिएको प्रमुख अर्याल बताउनु हुन्छ । जिल्लामा धादिङ अस्पताल, सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र, र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा विन्दुका रुपमा सूचिकृत गरिएको छ । यस्तै बेनिघाट रोराङका केही भुभागलाई भरतपुर अस्पताल र धुनिबेसी नगरपालिका र थाक्रे गाउँपालिकाका नागरिकहरुलाई शुक्रराज सरुवा रोग अस्पताल टेकु प्रथम सेवा विन्दुका रुपमा राखिएको छ । भौगोलिक विकटता, नागरिकहरुमा स्वास्थ्य विमाका महत्त्वका बारेमा कम जानकारी, प्रचार प्रसारको अभाव, कोरोना भाइरसका कारण भएको बन्दा बन्दी आदि कारणले विमा सदस्यता बढाउन नसकिएको प्रमुख अर्यालको भनाई छ । विमा सदस्यता सङ्ख्याको झन्डै १ तिहाइ जेष्ठ नागरिकहरु रहेका छन् ।
अस्पतालमा समयमा औषधी प्राप्त नहुनु, प्रक्रिया झन्झटिलो भएको बिमा कार्यक्रममा समावेश भएका नागरिकहरुको गुनासो छ । ५ जनासम्मको परिवारका लागि वार्षिक ३ हजार ५ सय रुपैया सेवा शुल्क र त्यो भन्दा थप सदस्य भएमा प्रति सदस्य ७ सयका दरले थप सेवा शुल्क लाग्ने छ । यस्तै ५ जनासम्मको परिवारले वार्षिक १ लाख सम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने छन् भने५ जना भन्दा बढी सदस्य भएमा प्रति सदस्य रु. २० हजारका दरले सुविधा थप हुनेछ ।
प्रतिक्रिया दिनुहोस