धादिङ ०८ वैशाख
देशका ७ सय ५३ वटै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण गर्ने संघीय सरकारको कार्यक्रम अनुसार धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको केन्द्रसम्म जाने टोड्के महेन्द्रबाराही, कुपिन्डे, सेमजोङ सडक सिफारिस भएको छ । प्रादेशिक एंव स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेश, हेटौँडाको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयले धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको केन्द्र जाने सडक छनौट गरेको हो ।
संघीय सरकारको ७० प्रतिशत, प्रदेश सरकारको १० प्रतिशत र स्थानीय सरकारको २० प्रतिशत लागत साँझेदारीमा २ वर्षसम्ममा सम्पन्न गर्ने गरी करिब १२ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । धादिङको सांकोष तिप्लिङ सडक खण्डमा पर्ने टोड्केदेखि कुपिन्डेसम्म करिब ४.१ किलोमिटर र छेउगाउँदेखि भोग्टेनी हुँदै गाउँपालिकाको केन्द्र सेमजोङसम्म करिब ७ किलोमिटर सडक प्रति किलोमिटर २ करोड ५० लाख लागतमा कालोपत्रे गर्नेगरी डिपिआर तयार भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण पौडेलले जानकारी दिनुभयो । कुपिन्डेदेखि भोग्टेनी छेउगाउँसम्मको करिब ५ किलोमिटर सडक मध्यपहाडी लोकमार्गभित्र पर्ने भएकाले मध्यपहाडी लोकमार्ग आयोजनाले नै हेर्नेगरी डिपिआर तयार भएको छ ।
सडक पूर्वाधार निर्माण र स्तरोन्नतिका कार्यमा गाउँपालिका निरन्तर रुपमा लागेको बताउँदै गाउँपालिका अध्यक्ष दुर्ग कुमार शाक्यले गाउँपालिका केन्द्रसम्म पक्की सडक निर्माण पश्चात् वर्षैभर यातायात सञ्चालन हुने हुँदा भाडादर कम हुने, नागरिकहरुलाई धुलो धुवाबाट बचाउने, सबै किसिमका सवारी साधन सञ्चालन हुने र आन्तरिक पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने बताउनु हुन्छ ।
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, हेटौँडामा मिति २०७८ साल वैशाख २ गते त्रिपक्षीय सम्झौता भएको हो । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, हेटौँडाका प्रमुख मोहनराज चापागाई, यातायात पूर्वाधार निेर्देशनालय, भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशका निर्देशक डा. सहदेव बहादुर भण्डारी र नेत्रावती डबजोङ गाउँपालिकाका प्रमुख प्रशाासकीय अधिकृत श्यामकृष्ण पौडेलले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । यो आर्थिक वर्षमै सडक निर्माणको प्रशासनिक प्रकृया सुरु हुने र आउने आर्थिक वर्षमा बजेट व्यवस्थापन गरेर भौतिक निर्माणको काम सुरु गरिने सम्बद्ध स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस