धादिङ ०७ वैशाख
धादिङ नेत्रहीन संघ, धादिङले कोभिड प्रभावित अपाङ्गता भएका व्यक्तिहरुका लागि राहत स्वरुप खाद्यान्न तथा लत्ता कपडा वितरण गरेको छ । मङ्गलबार नीलकण्ठ नगरपालिकाको सहयोगमा सि.बि.आर कार्यक्रम अन्तरगत नगरपालिकाभित्रका १५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरिएको हो । संघका अध्यक्ष ज्ञानेन्द्र लम्सालको अध्यक्षता तथा नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न सहयोग सामग्री वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष एवं रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, कोषाध्यक्ष एवं रेडियो बिहानीका स्टेशन म्यानेजर शिव प्रसाद देवकोटा(सञ्जय) लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई संबोधन गर्दै नगर उप प्रमुख मनराज भण्डारीले अपाङ्गता भएका नागरिकहरुलाई आर्थिक, भौतिक र मनोवैज्ञानिक सबै खाले सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनु भयो । नगरपालिकाभित्र हालसम्म ४ सय ७२ जना अपाङ्गता भएका नागरिकहरु सूचिकृत भएका छन् । संघले पहिलो चरणमा अपाङ्ता सहयोगी सामग्री वितरण गरेको थियो भने दोस्रो चरणमा खाद्यान्न तथा लत्ता कपडा वितरण गरेको हो । अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गर्दै वागमती प्रदेश सामाजिक विकास मन्त्रालयले सि.वि.आर कार्यक्रमलाई आर्थिक सहयोग गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस