धादिङ ०७ बैशाख
देशैभर कोरोना जोखिम बढेको सन्दर्भमा धादिङमा पनि स्वास्थ्य सचेतता अपनाउन आग्रह गरिएको छ । मङ्गलबार प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको अध्यक्षतामा बसेको कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र धादिङको बैठकले विभिन्न निर्णय गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरेको हो ।
निर्णयमा फुर्केखोलास्थित चेक प्वाइन्टमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था सिद्धलेक गाउँपालिकाले मिलाउने, सेवाग्राहीको अत्याधिक चापका कारण बढी भिडभाड हुने कार्यालयहरुमा सेवाग्राहीको चाप विश्लेषण गरी सम्बन्धित कार्यालयले स्थानीय तह अनुसार आलोपालो गरी सेवा दिने व्यवस्था मिलाउने, सार्वजनिक तथा निजी सेवा प्रदायकले सम्भव भएसम्म विद्युतीय प्रणाली मार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाउने, विद्यालय र क्याम्पस पुर्वनिर्धारित परीक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने, पार्टी प्यालेस, डान्स, दोहोरी, नाँचघर क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा लगाएत मानिसहरुको भिडभाड हुने गतिविधिहरु बैशाख मसान्तसम्मका लागि बन्द गर्ने, पर्व, विवाह, पास्नी, मलामी लगाएतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा २५ जना भन्दा सहभागि नगराउने, होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्ने लगाएतको निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस