धादिङ ०७ बैशाख
धादिङमा मङ्गलबारबाट कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु भएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिहरुका लागि दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले बताउनु भयो ।
सो समय अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुले मङ्गलबारदेखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन सक्ने छन् । पहिलो खोप अभियान अन्तर्गत स्वास्थ्य विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो । धादिङमा पहिलो चरणमा ९ हजार १ सय महिला र ९ हजार ७ सय २६ जना पुरुष गरी जम्मा १८ हजार ८ सय २६ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय धादिङको तथ्यांकमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस