धादिङ,०४ बैशाख ।
संयुक्त दलित संघर्ष समिति धादिङको पत्रकार सम्मेलन सम्पन्न भएको छ । संयुक्त दलित संघर्ष समिति धादिङको दोस्रो चरणको आन्दोलनलाई कसरी लैजाने भन्ने उद्धेश्यले उक्त सम्मेलन आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै दलित नेता दिपक विश्वकर्माले पहिलो चरणको आन्दोलनले दलित समुदायमा एक किसिमको उर्जा थपिएको र आफ्नो अधिकारको लागि लड्न सिकाएको बताउनु भएको थियो । यो कार्यक्रम नगरपालिकामा मात्रै नभई हरेक गाउँपालिकामा गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको छ । संयुक्त दलित संघर्ष समिति धादिङले कक्षा १२ सम्म संविधानले प्रदान गरेको निशुल्क शिक्षा लगायत १२ बुँदे मागहरु नीलकण्ठ नगरपालिकामा राख्दै आएको थियो । तर उक्त मागहरु प्रति नगरपालिकाले वेवास्ता गरेको भन्दै चैत १३ गते देखि संचालन गर्दै आएको धर्ना कार्यक्रम २७ गते पञ्चेबाजा सहित सम्पन्न गरेको हो । हरेक गाउँपालिका तथा नगरपालिकामा यो कार्यक्रम संचालन गर्नको निम्ती शनिबार नै एक प्रेस विज्ञप्ती निकालि दोस्रो चरणको कार्यक्रम तय गरेको छ ।
संयुक्त दलित संघर्ष समिति धादिङले तयार गरेको दोस्रो चरणको कार्यक्रम अन्र्तगत बैशाख १० गते २ वटा नगरपालिका र ११ वटै गाउँपालिकामा ज्ञापन पत्र बुझाउने, बैशाख १२ गते नीलकण्ठ नगरपालिकामा धर्ना कार्यक्रम गर्ने, बैशाख १६ गते भित्रमा नगरपालिकाको १४ वटै वडामा संयुक्त दलित संघर्ष समिति गठन गरिसक्ने र वडा स्तरीय छलफल तथा अन्तरक्रिया गर्ने, १७ गते शुक्रबार सर्वदलिय र सर्वपक्षिय वृहतअन्तरक्रिया कार्यक्रम गर्ने, १९ गते देखि २४ गते सम्म प्रत्येक गाउँपालिकामा धर्ना कार्यक्रम गर्ने र २७ गते धादिङबेशीमा जिल्ला स्तरीय बृहत सभा तथा कार्यक्रम गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न भएको कार्यक्रममा सहभागिहरुले आफुले भोग्दै आएका समस्याहरुको बारेमा जानकारी गराउनुका साथै कार्यक्रमलाई कसरी अगाडी बढाउने भन्ने बारेमा सल्ला सुझाव पनि दिएका थए । उक्त कार्यक्रममा दलित नेता दिपक विश्वकर्मा, गोपाल विश्वकर्मा, गणेश बराईली, कुमार सुनार, नवराज मजाकोटी रामबहादुर बसेल लगाएत दलित अगुवा तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस