धादिङ ०२ वैशाख
प्राकृतिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिएको चार हजार २ सय मिटरको उचाइमा रहेको धादिङ, नुवाकोट र रसुवा जिल्लाको संगमस्थलमा पर्ने सिंङ्ला क्षेत्रमा महोत्सव हुने भएको छ । यही वैशाख ११ गतेबाट सिङ्ला पर्यटन महोत्सवको आयोजना गरिएको सिङ्ला पर्यटन क्षेत्र विकास समाज धादिङका कोषाध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक दिनेश तामाङले जानकारी दिनुभयो ।
वैशाख ११ गतेबाट सुरु हुने महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ । सिङ्लाबाट २७० देखि ३६० डिग्रीमा हिमालय दृष्यहरु अवलोक गर्न सकिने छ । प्राकृतिक दृष्यले भरिपूर्ण सिङ्ला महोत्सव स्थलसम्म पुग्नका लागि धादिङबेसीबाट रुविभ्यालीको बोराङ, आर्वाङ हुदै, नुवाकोटबाट भाल्चे हुंदै र रसुवाबाट गत्लाङको रुट प्रयोग गर्न सकिने तामाङले बताए ।
महोत्सवको मुख्य आकर्षणका रुपमा म्हेन्दोमाया प्रतियोगिता, तामाङ, घले र गुरुङ जातिको पुराना कला संस्कृतिको प्रदर्शन, साईखोले, मानेनांच, पारुनांच, लामानांच, झांक्री नांच, गुरुङ जातीको रोधी, घाटु र मारुनीनांच, म्याराथुन, रुबी ढुङ्गाको प्रर्दशनी, विभिन्न जडिबुटीहरुको प्रदर्शनी रहेको आयोजकले जानकारी दिएको छ ।
महोत्सवलाई व्यवस्थित बनाउनका लागि संयौको सङ्ख्यामा स्वयमसेवक परिचालन गरिने, सामुहिक रुपमा मेस सञ्चालन गर्ने, अस्थायी आवास गृह निर्माण गर्ने लगायतका कार्यहरु भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस