धादिङ जेष्ठ २१
संस्थागत विद्यालयहरुमा धादिङ जिल्लाकै उत्कृष्ठ विद्यालयका रुपमा स्थापित धादिङ आवासीय माध्यमिक विद्यालयले मङ्गलबार वार्षिक कार्यक्रम अनुसारको वृहत शैक्षिक प्रर्दशनी कार्यक्रम सम्पन्न गरेको छ । नियमित पठन पाठनमा र अतिरिक्त कृयाकलापका क्षेत्रमा सधै अब्बल रहदै आएको विद्यालयले आज शिक्षक तथा विद्यार्थीहरुको सक्रियतामा शैक्षिक प्रर्दशनी सम्पन्न गरेको हो । नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन र पेशा व्यवसाय तथा प्रविधि लगायतका विभिन्न विषयगत विभागहरुमा शिक्षक तथा विद्यार्थीहरुको समूह बनाइ विभिन्न शैक्षिक ज्ञान, प्रविधिसँग सम्बन्धित पोस्टरहरु, विभिन्न पेशा र हस्तकलासँग सम्बन्धित औजारहरुको निर्माण गरी प्रदर्शनी गरिएको हो ।
शिक्षक लोकनाथ रिजाल, गौरी ढुङ्गानाको नेतृत्वमा नेपाली विभाग, सैलेश अधिकारी र अपिल कोइरालाको नेतृत्वमा अङ्ग्रेजी विभाग, सुनिता सिलवालको नेतृत्वमा गणित विभाग, पङ्कजदाश र प्रकाश श्रेष्ठको नेतृत्वमा विज्ञान विभाग, प्रकाश गुरुङ आनन्दी तामाङको नेतृत्वमा सामाजिक अध्ययन विभाग, सर्मिला गुरुङ र वालकृष्ण लम्सालको नेतृत्वमा पेशा व्यवसाथ तथा प्रविधि विभागको सक्रियतामा विद्यार्थीहरुलाइृ परिचालन गरी उक्त वृहत शैक्षिक प्रदर्शनीको आयोजना गरिएको हो ।
यस्ता खाले कार्यक्रमहरुले विद्यार्थीहरुको र विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा ठुलो सहयोग पुग्ने र वास्तविक वस्तुको सहायताबाट विद्यार्थीहरुलाई शिक्षण गर्दा विषयवस्तु बुझ्न अत्यन्तै सहज हुने भएकाले विद्यालयले समय समयमा शिक्षणसँग सम्बन्धित प्रदर्शनी, अवलोकन भ्रमण जस्ता कार्यक्रमहरु आयोजना गर्ने विद्यालयका प्रधानाध्यापक हरि लम्सालले बताउनु भयो । यस्तै विद्यालयका एजुकेटिभ डाइरेक्टर सुरेन्द्र शाहले विद्यार्थी आफैँलाई समावेश गराएर रचनात्मक ढङ्गले शैक्षिक सामग्रीहरुको निर्माण गर्दा विद्यार्थीहरुमा थप ज्ञान सीपको विकास हुने बताउनु भयो ।
प्रर्दशनीमा विद्यार्थीहरुले विभिन्न हस्तकलाका सामग्रीहरु जस्तै धागोबाट बनाइने फूल, हलो, परम्परागत ढिकी, बासँ तथा काठका सुन्दर घरका नमूनाहरु, माटोका भाडाँ तथा आकर्षक सामग्रीहरु, कागजबाट बनाइएका विभिन्न किसिमका फूलहरु, उपयोगी भनाइ सहितका चार्टहरु, चित्रहरु लगायतका सामग्रीहरुको निर्माण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस