धादिङ २८ चैत्र
नीलकण्ठ नगरपालिकाभित्रका मेलमिलापकर्ताहरका लागि २ दिने पुनतार्जगी तालिम धादिङबेसीमा सुरु भएको छ । तालिमका नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक मनराज भण्डारीले शनिबार उद्घाटन गर्नुभएको हो ।
उद्घाटन गर्दै उपप्रमुख भण्डारीले न्यायिक समितिको काम कारबाहीलाई व्यवस्थित गर्नका लागि कर्मचारी, भौतिक पूर्वाधार, स्रोत साधनको अभाव भएकाले अब वडा स्तरमा रहेका मेलमिलापकर्ताहरुलाई चलायमान बनाउदै देवानी प्रकृतिका समस्याहरु मेलमिलाप गराउन प्रेरित गर्ने बताउनु भयो ।
सदरमुकाम र प्रहरी कार्यालयको पहुच भएकाले पनि नीलकण्ठ नगरपालिकाभित्रका नागरिकहरु समस्या लिएर मेलमिलापकर्तासँग भन्दा प्रहरीकोमा जाने गरेको पाइएकोले मेलमिलापकर्ता र न्यायिक समितिको काम कारबाहीबारे जनस्तरसम्म सूचना प्रवाह हुन नसकेको बताउदै उपप्रमुख भण्डारीले आर्थिक वर्ष २०७६÷०७७ मा ३२ वटा उजुरी परेकोमा २४ वटा मुद्दाहरु फर्छौट गरिएको बताउनु भयो ।
नगरपालिकाभित्रका १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना भई प्रत्येक वडामा २÷२ जना सूचिकृत मेलमिलापकर्ताहरु रहेका छन् । न्यायिक समितिले देवानी प्रकृतिका मुद्दाहरुलाई मेलमिलाप गराउन पाउने कानुनी व्यवस्था रहेको छ ।
प्रशिक्षकद्धय उषा मल्ल पाठक र विष्णुमाया भुषालले तालिमको सहजीकरण गर्नुहुनेछ । न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख मनराज भण्डारीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नीलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख तुल बहादुर महत, जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत विष्णु सोहनी, पत्रकार महासंघ धादिङका कोषाध्यक्ष शिव प्रसाद देवकोटा, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक जयन्ती थापा, प्रशिक्षकहरु लगायत २४ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो ।
तालिमको समापन आइतबार हुनेछ । नीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा हालसम्म ८२ वटा उजुरी परेकोमा ३९ वटा उजुरी फर्छौट गरिएको छ ।
प्रतिक्रिया दिनुहोस